आर्यनको ‘डिसेम्वर फल्स’ डिसेम्वरमा



रंगखबर, काठमाडौँ : फिल्म ‘डिसेम्वर फल्स’ कोे छायांकन हाल राजधानीमा धमाधम भइरहेको छ । पहिलो लकडाउन खुलेपछि छायांकन थालीएको फिल्म निर्माण कार्य दोश्रो पटकको निषेधाज्ञाका कारण केही मात्रामा प्रभावीत भएको थियो । अब भने छायांकन सम्पूर्ण रुपले समापन गर्ने सेड्युलका साथ निर्माण पक्ष कस्सिएको छ ।


आर्यन सिग्देल र उपासना सिंह ठकुरी मुख्य भूमिकामा रहेको फिल्मको निर्देशक प्रविण झा हुन भने महेश आर गुप्ताले खिचीरहेका छन् । निर्देशक प्रविण र छायाँकार महेश भारतीय फिल्म उद्योगमा कार्यरत छन् । रामप्रसाद रिजालको प्रस्तुति रहेको फिल्मको कार्यकारी निर्माता लक्ष्मण रिजाल छन् । राजकुमार भट्ट निर्माता रहेको फिल्ममा आर्यन र उपासनाका साथमा सुमन थापा रोहित,सलोन बस्नेत,नरेश भट्टराईलगायतका कलाकारले अभिनय गरेका छन् । बिपीका खनालको कथा,केदार भुसालको पटकथा र सम्वाद रहेको फिल्मको अधिकांश दृश्य पोखरामा आसपासमा खिचिएको छ । छायांकन सुरु हुना साथ युट्युव र अष्ट्रेलिया राइट एजुकेशन एण्ड माइग्रेसन कर्नरले किनिसकेको फिल्मको हल बितरण भने श्रीराम बलाजी फिल्मस्का सुनील मानन्धरले गर्ने छन् ।
फिल्मको पूरा छायांकन सकिन अब झण्डै दुई साता लाग्ने जानकारी कार्यकारी निर्माता रिजालले दिएका छन् । पहिला साउन १ गते प्रदर्शन गर्ने भनिएको भए तापनि अब भने यो फिल्म आगामी डिसेम्बर महिनामा दर्शकमाझ आउने छ । कार्यकारी निर्माता रिजालले आफुहरु डिसेम्बर महिनाभित्र फिल्म प्रदर्शन गर्ने लक्ष्यका साथ कार्यरत रहेको बताए । ‘डिसेम्बरको कुनै पनि शुक्रबार रिलिज हुन्छ,’ उनले भने, ‘अहिले हामी यही योजनाका साथ काम गरिरहेका छौ ।’ प्रेमकथाका साथमा चलचित्रमा वास्तवीक घटनालाई उठान गरिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्