‘ज्याकीः आई एम ट्वान्टी वान’ प्रिमियर सम्पन्न, कलाकार देखि संचारकर्मीले रुचाए फिल्म



रंगखबर, काठमाडौँ: काठमाडौंको आइ प्लेक्स मलस्थित वान सिनेमाज्मा आयोजना गरिएको फिल्म ‘ज्याकीः आई एम ट्वान्टी वान’को प्रिमियरमा फिल्मीकर्मी र पत्रकारले यसको खुलेरै प्रशंसा गरे ।

२ घन्टा २० मिनेट लामो फिल्मले नेपाली फिल्मले भन्दै आएको एउटै शैलीको कथालाई भत्काएको प्रतिक्रिया निर्देशक प्रदीप भट्टराइले दिए । उनले भने–‘नेपाली फिल्ममा जे बिक्छ त्यही बनाउने चलन छ । तर, रिनशा राई रानाले यो ट्रेन्डलाई भत्काइदिनुभएको छ । अब, फिल्म बनाउने मेकरका लागि पनि नयाँ बाटो यो फिल्मले खोलिदिएको छ ।’

नायिका प्रियंका कार्कीले फिल्म हेरेर आफ्नो आँखालाई आनन्द आएको बताइन् । नेपाली फिल्म क्षेत्रको पहिलो डान्स ड्रामाको रुपमा रहेको फिल्मले नयाँ सोच बोकेको अर्की नायिका शिल्पा मास्केको भनाई छ । फिल्ममा कलाकारको मिहिनेत देखिएको यी दुई नायिकाको भनाई थियो ।

नायिका अना शर्माले फिल्म हेरेर आफूले पूर्ण रुपमा मनोरञ्जन लिएको बताइन् । नेपालमा पनि यस्तो उत्कृष्ट काम गर्ने डान्सर रहेको भन्दै उनले खुशी व्यक्त गरिन् ।

चलचित्र विकास बोर्डका अध्यक्ष तथा नायक भुवन केसीले फिल्म पूर्ण रुपमा मनोरञ्जनात्मक बनेको र सन्देश पनि दिने खालको रहेको बताए । नेपालमा यो स्तरको फिल्म बन्नु आफैमा सुखद कुरा भएको उनको भनाई थियो ।

फिल्म हेरेर नायिका केकी अधिकारी र रिमा विश्वकर्माले पनि खुलेरै तारिफ गरे । नेपालमा यस्तो कथामा फिल्म बनाउनु आफैमा चुनौतीपूर्ण रहेको भन्दै उनीहरुले निर्देशकको काम, कलाकारको काम र प्राविधिकहरुको मिहिनेतको खुलेर तारिफ गरे ।

फिल्म हेर्न वान सिनेमाज् पुगेका अधिकांश फिल्मीकर्मीले नेपाली फिल्मको स्तर माथि पुगेको भन्दै खुशी व्यक्त गरेका छन् ।

रिनशा वान्तवा राइको निर्देशनमा धिरज मगर, जसिता गुरुङ, अरुण क्षेत्री, प्रेम सुब्बा लगायतका कलाकारको अभिनय रहेको यो फिल्मले एउटा २१ बर्षको यूवाको डान्सर बन्ने सपनाको कथा भन्छ । वैशाख २१ गते अर्थात बिहिबारदेखि रिलिज हुन लागेको फिल्मले बक्स अफिसमा राम्रो कमाई गर्ने विश्वास निर्माणपक्षको छ ।

प्रिमियरबाट पाएको प्रतिक्रियाले आफू अत्यन्त उत्साहित भएको र आफूहरुको मिहिनेत सफल भएको निर्देशक रिनाशाले बताइन् ।

यस्तै, नायिका जसिता गुरुङ फिल्ममा काम गर्दाको मिहिनेत संझिएर भावुक भइन् । उनले, फिल्म हेर्न प्रिमियरमा पुग्ने अधिकांशको प्रतिक्रियाले उत्साहित बनाएको बताइन् । नायक धिरज मगरले पनि फिल्मका लागि ३ बर्ष मिहिनेत गरेको र आज सुखद प्रतिक्रिया पाउँदा खुशी लागेको बताए ।

 

हेरौ प्रिमियरका केहि तस्बिरहरु : 

 

प्रतिक्रिया दिनुहोस्