‘ज्याकीः आई एम ट्वान्टी वान’को क्लाइमेक्समा फेरवदल



रंगखबर, काठमाडौँ: गत बिहिबार देखि प्रदर्शन भएको फिल्म ‘ज्याकीः आई एम ट्वान्टी वान’ले विस्तारै दर्शक तान्न सफल भईरहेको छ।  फिल्म हेरेका हरेक दर्शकले फिल्मलाई अहिले सम्मकै भिन्न भन्दै तारिफ गरिरहेका छन। वर्ड अफ माउथले गर्दै दर्शकको मन तानिरहेको फिल्मको क्लाइमेक्स प्रति दर्शकले गुनासो गरेका थिए। फिल्म हेरेर फर्किएका अधिकांश दर्शकले यसको क्लाइमेक्स अपूर्ण भएको भन्दै निर्माणपक्षसँग असन्तुष्टी जनाएका थिए ।

अब, दर्शकले परिवर्तन भएको क्लाइमेक्ससहित फिल्म हेर्न पाउनेछन् । दर्शकको मागलाई ध्यानमा राखेर निर्देशक रेनशा वान्तवा राईले क्लाइमेक्समा परिवर्तन गरेको बताएकी छिन् । क्लाइमेक्स परिवर्तन गरेर फिल्म हलमा लागेपछि दर्शकले धन्यवाद दिएको रेनशाले बताइन् । उनले भनिन्–‘हामीले दर्शकको मागलाई ध्यानमा राखेर क्लाइमेक्समा परिवर्तन गरेका छौं । परिवर्तित क्लाइमेक्सलाई दर्शकले मन पराउनुभएको छ । दर्शकले फिल्मलाई पूर्ण रुपमा मन पराउनुभएको छ । क्लाइमेक्समा आएको गुनासोलाई समेत हामीले परिवर्तन गरेका छौं ।’

नायक धिरज मगर, नायिका जसिता गुरुङले पनि अब दर्शकले क्लाइमेक्सलाई रुचाउने बताए । नेपाली फिल्म क्षेत्रमै पहिलो पटक डान्स र पारिवारिक कथावस्तुमा तयार भएको यो फिल्म हेरेपछि अधिकांश दर्शकले निर्माण टिमको मिहिनेतको खुलेरै प्रशंसा गरेका थिए । नेपालमा यस्तो शैलीको फिल्म यस अगाडि नबनेको भन्दै उनीहरुले ‘ज्याकीः आई एम ट्वान्टी वान’ जस्ता फिल्म बन्नुपर्ने तर्क गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्