४६ बर्षपछि यस्तो बन्यो ‘नाच्देउ मैच्याङ’



रंगखबर, काठमाडौँ: गायक तथा संगीतकार शम्भुजित बासकोटा र गायिका देविका बन्दनाको स्वरमा रहेको चर्चित गीत ‘नाच्देउ मैच्याङ’को रिमेक भर्सन सार्वजनिक भएको छ । रिमेक भर्सनको गीतमा संगीतकार शम्भुजित बास्कोटाको स्वर, शब्द र संगीत छ । उनलाई स्वरमा पाल्मु शेर्पाले साथ दिएकी छन् ।
यो गीत शम्भुजितले ४६ वर्ष अघि रेडियो नेपालमा गाएका थिए । गीतमा चाँद सिंहको एरेन्ज, चन्द्र चौधरीको मिक्सिङ र मास्टरिङ छ ।
सोमबार परेको गुरु पूर्णिमाको अवसर पारेर सार्वजनिक गीतको भिडियोमा पल शाह र छिरिङ शेर्पा फिचर्ड छन् । भिडियोको निर्माता गायिका पाल्मु नै हुन् ।
‘मैले यो गीत ४६ वर्षअघि सिक्नका लागि गाएको थिएँ । अहिले आएर त्यसलाई अझ नयाँ रुप दिँदै गाउन पाउँदा प्रफुल्लित छु’, राजधानीमा आयोजित भिडियो सार्वजनिक कार्यक्रममा शम्भुजितले भने । शम्भुजित नेपालको पहिलो म्यूजिक भिडियो निर्देशकसमेत हुन् ।
गायिका पाल्मुले बाल्यकालदेखि नै शम्भुजितको गीत र संगीत सुनेर हुर्किएको स्मरण गर्दै अहिले यो गीतमा शम्भुजितसँग सहकार्य गर्न पाउनु आफ्ना लागि अहोभाग्य भएको बताइन् ।
भिडियोका मोडल पल शाहले म्यूजिक भिडियोको कल्पना गरेका शम्भुजित बासकोटासँग यो भिडियोमा सहकार्य गर्न पाउँदा आफू हर्षविभोर भएको बताए ।
मोडल छिरिङ शेर्पाले आफू शेर्पा समुदायको फिल्ममा र केही गीतमा सीमित भइरहँदा अहिले यो टिमसँग सहकार्य गर्न पाउँदा आफ्नो दायरा फराकिलो बनेको अनुभव सुनाइन् ।
हरि हुमागाईंको डीओपी र निर्देशन रहेको भिडियोमा नेपा फेस ब्युटीको मेकअप, प्रविण मानन्धरको कलर, सुनिल शिवभक्तिको सम्पादन, काजिश श्रेष्ठको कोरियोग्राफी, उत्तम हुमागाईंको छायांकन छ ।

प्रतिक्रिया दिनुहोस्