‘दोहोरी आइकन’को घोषणा



रंगखबर, काठमाडौँ: टेलिभिजन रियालिटी शो ‘दोहोरी आइकन’को आयोजना हुने भएको छ । काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा केही सातापछि डिजिटल र अनलाइन अडिसन सुरु हुन लागेको जानकारी दिइयो । मौलिक लोकदोहोरी गीतको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले शो गर्न लागिएको जनाइएको छ ।

आयोजक एजे इन्टरटेनमेन्टले केही महिनापछि शोको प्रसारण सुरु हुने जानकारी दियो । यो शोमा कोमल वली, पशुपति शर्मा र कुलेन्द्र विश्वकर्मा निर्णायकको भूमिकामा हुनेछन् । होस्टको रुपमा पीएन सापकोटा र शोभा त्रिपाठी रहनेछन् ।
प्रतिस्पर्धामा पहिलो हुनेलाई २५ लाख रुपैयाँ पुरस्कार र वर्ल्ड टुरको समेत व्यवस्था गरिने आयोजकले जनाएको छ । अजय पोखरेलको अध्यक्षता भएको पत्रकार सम्मेलनमा लोकगायिका कोमल वली, समाजसेवी रमेशबाबु श्रेष्ठ, गायक पशुपति शर्मा, कुलेन्द्र विश्वकर्मा, कृष्ण रेउले, दीपक खड्का लगायतको उपस्थिति थियो । ‘दोहोरी आइकन’मा मौलिकता र नयाँ प्रतिभालाई विशेष जोड दिइने निर्णायकले बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्