‘काले केटाले’ तान्यो दर्शकको ध्यान



 

रंगखबर, काठमाडौँ: नेपाली फिल्ममा हम्मेसी रिच प्रोडक्सन भएको गीतको भिडियो हेर्न पाइँदैन । न्यून बजेट नै यसको मुख्य कारण हो । तर, केही फिल्मले भने गीतको भिडियोमा पनि महंगो बजेट खर्चिन थालेका छन् । यसको पछिल्लो उदाहरण हो- फिल्म ‘ऐंचो पैंचो’ । र, यसको गीत ‘काले केटाले…को भिडियो ।’

यो गीत फिल्मको कथाभित्र कुन सन्दर्भ र के प्रयोजनका लागि हो त्यो त अहिलेसम्म रहस्यकै गर्भमा छ । तर, फिल्म भित्र कस्तो कथामा यो गीत आउँछ त्यो त फिल्म हेरेपछि नै थाहा होला । अहिलेलाई भने यो गीतले दर्शक तथा स्रोताको मन जितिरहेको छ । लोकप्रिय बन्दै भएको गीत अहिले चर्चामा छ ।

झट्ट गीत सुन्दा र हेर्दा आइटम सङ जस्तो पनि तर थोरै लोकलयमा मिश्रित यो यतिबेला फिल्मको राम्रो प्रचार सामग्री भने बनिरहेको छ । लोक र आधुनिक गीत सिर्जनाको शिखरमा रहेका रहेका सर्जक एकनारायण भण्डारीको शब्दरचना रहेको गीतमा संगीत र स्वर आशिस अबिरलको छ । आशिसलाई अस्मिता अधिकारीले स्वरमा साथ दिएकी छन् ।

योङ जेनेरशनलाई लक्षित गरेर लेखिएको गीतले प्रेमी-प्रेमिकाले आफ्नो प्रेमी-प्रेमिकासँग देखाउने एटिच्युड प्रस्तुत गरेको छ । आफूलाई सुनसँग तुलना गर्दै प्रेमीलाई फलाम भएको रोमान्टिक व्यङ्ग्य गर्ने गीतमा दुवैले एकअर्कालाई मन पराउने तर रमाइलोका लागि एकले अर्कोलाई जिस्काउने भाव छ । केटाले देखाउने समर्पणमा मदहोस प्रेमिका गीतको सारांश हो ।

गीतको भिडियोमा एलेक्स विश्वकर्मा (पारस) फोकस छन् । साथमा स्वस्तिमा खड्का, वर्षा राउत, मुकुन भुषाल, सुशील सिटौला, कोसिस क्षेत्रीको अभिनय छ । यो गीतको भिडियोमा कबिराजको आकर्षक कोरियोग्राफी छ । सयौं कोरसका बिचमा फिल्मका मुख्य कलाकारको नृत्य छ । प्रायः बिना कोरस नायक/नायिकालाई मात्रै नचाउने अधिक फिल्मबीच ‘ऐंचो पैंचो’ले सयौं कोरस र आफैँ सेटलगाएर निर्माण गरिएको भिडियोले यतिबेला दर्शकको ध्यान खिचिरहेको छ ।

पारसको भूमिका सिनेमामा छ/छैन थाहा छैन तर उनको नृत्यले दशर्कको मन खिच्छ । स्वस्तिमा र बर्षाको अदाहले भिडियोलाई थप उचाई दीएको छ । शब्द र भावअनुसार अन्य कलाकारको टाइमिङ र नृत्यलाई दर्शकले रुचाएका छन् ।

निर्माण पक्षले गीतको भिडियोलाई कलरफूल बनाउन कुनै सम्झौता गरेको छैन । अक्सर कमर्सियल फिल्ममा पब्लिसिटीका आइटम गीत राख्ने र त्यसको भिडियो ठमेलको कुनै क्लवमा खिच्ने परम्परालाई तोडेको यो ‘ऐंचो पैचो’को गीतले धक खोलेर निर्माण गरिने सिर्जनाले दर्शकले मन पराउँछन् भन्ने पनि प्रमाणित गरिदिएको छ । सार्वजनिक भएको छोटो समयमै युट्युबमा करिब १९ लाख पटक गीत हेरिसकेका छन् ।

मल्टिस्टारर फिल्म ‘ऐंचो पैंचो’ सुरुवाती प्रचार सामग्रीदेखि नै सम्भावना देखाएको फिल्म हो । सार्वजनिक टिजर र यसका दृश्यले फिल्म राजनीतिको पृष्ठभूमीमा रहेको संकेत गरेको छ । टिजरले कौतुहलता सिर्जना गरेको छ । भदौ १४ गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्मलाई  कृषा चौलागाईंले निर्देशन गरेकी हुन्।

केपी फिल्मसको ब्यानरमा निर्माण भएको फिल्ममा स्वस्तिमा खड्का, मुकुन भुषाल, वर्षा राउत, सुशील सिटौला, कोशिस क्षेत्री, रमेशबुढाथोकी, राजाराम पौडेल, बुद्धि तामाङ, रवीन्द्र झा, सरिता गिरी, विशाल पहारी लगायत कलाकारको अभिनय रहेको छ ।

प्रितम लामिछाने र आध्या लामिछाने निर्माता रहेको फिल्ममा अभिमन्यु निरवीको कथा, पुरुषोत्तम प्रधानको छायांकन, कविराजगहतराजको कोरियोग्राफी, शुजिल कर्माचार्यको पाश्र्व संगीत रहेको छ । रेनिश फागोकको कलर, सत्यम राणाको भिएफएक्स, मुकेशशाहको साउण्ड डिजाइन, भोला सुवेदी (प्रनव) प्रोडक्सन कन्ट्रोलर, विनय राज पौडेलको मुख्य सहायक निर्देशक र विपिन मल्ल र भुपेन्द्रअधिकारीको सम्पादन छ ।

नेपाली फिल्म उद्योगमा राजनीतिक विषयमा कमै मात्रै सिनेमा निर्माण भइरहेका बेला कृषाले यो विषयमा फिल्म बनाउने आँट गरेकीछन् ।

 

प्रतिक्रिया दिनुहोस्