बर्षा भन्छिन, ‘ऐंचो पैंचो’मा भूमिका छोटो भएपनि पावरफुल छ



रंगखबर, काठमाडौँ: कृषा चौलागाई निर्देशित फिल्म ‘ऐंचो पैंचो’ टिम सिनेमाको प्रदर्शन मिति नजिकिएसँगै प्रचारप्रसारमा व्यस्त छ । फिल्मको प्रदर्शन मिति जति नजिकिँदै छ त्यति नै निर्माण पक्षले प्रचारलाई तिव्रता दिएको छ । टिकटकदेखि मिडिया अन्तर्वार्तासम्ममा यसका कलाकार र निर्देशकलाई भ्याइनभ्याइ छ ।

कलाकार स्वस्तिमा खड्का, वर्षा राउत, मुकुन भुसाल, सुशील सिटौला तथा निर्देशक चौलागाईं यतिबेला मिडिया अन्तर्वार्तामा व्यस्त छन् । टेलिभिजन, रेडियो, अनलाइनदेखि युट्युब च्यानलमा अन्तर्वार्ता दिइरहेका छन् । कलाकार आफ्ना अन्य सबै काम छोडेर प्रचारमा जुटेका हुन् ।

अन्य फिल्ममा भन्दा आफूले ‘ऐंचो पैंचो’मा राम्रो काम गरेको प्रतिक्रिया निर्माण पक्षबाट पाएको नायिका वर्षा राउतले बताएकी छन् । आफ्नो चरित्र फिल्ममा छोटो भए पनि पावरफुल भएको उनको भनाइ छ ।

त्यसैले आफूले यो फिल्ममा काम गरेको उनको भनाइ छ । आफ्ना धेरैजसो चलचित्र छोटो र अर्थपूर्ण क्यारेक्टर हुने गरेको उनी बताउँछिन् । फिल्म टिमवर्क भएको भन्दै सबैले राम्रो काम गरे मात्रै फिल्म समग्रमा राम्रो हुने वर्षा बताउँछिन् । ‘ऐंचो पैंचो’मा सबै कलाकारको उत्तिकै इफोर्ट रहेकाले राम्रो सिनेमा बनेको उनको दाबी छ ।

त्यसैगरी अभिनेता मुकन भुसालले आफूलाई स्क्रिप्ट राम्रो लागेकाले काम गरेको बताएका छन् । ‘बुलबुल’ पनि स्क्रिप्ट मन परेरै काम गरेको भन्दै उनले भने, ‘बुलबुलमा पनि स्वस्तिमा जी लिड रोलमा हुनुहुन्थ्यो । त्यो सिनेमाबाटै म आएको हुँ । मैले धेरै सिनेमा त गरेको छैन । तर स्क्रिप्ट राम्रो भयो भने काम गर्छु । कुन रोलमा को छ भन्दा पनि समग्रमा सिनेमा राम्रो हुनुपर्छ । त्यो भयो भने सबैलाई राम्रो हुन्छ ।’

सहयोगी भएर काम गर्नु पर्नेमा उनको जोड छ । नेपाली कलाकारमा इगो प्रोब्लम खासै छैन । बजार विस्तारका लागि अझै एकआपसमा मिलेर काम गर्नुपर्नेमा उनको जोड छ । भदौ १४ गतेबाट प्रदर्शन हुने फिल्म सेन्सर पास पनि भइसकेको छ । फिल्मलाई सेन्सर बोर्डले युनिभर्सल सर्टिफिकेट दिएको छ । सबै उमेर समूहका दर्शकले सिनेमा हेर्न पाउने छन् ।

फिल्ममा स्वस्तिमा खड्का, मुकुन भुषाल, वर्षा राउत, सुशील सिटौला, कोसिस क्षेत्री, रमेश बुढाथोकी, राजाराम पौडेल, बुद्धि तामाङ, रवीन्द्र झा, सरिता गिरी, विशाल पहारीलगायत कलाकारको अभिनय छ । फिल्मको एलेक्स बिक (पारस)को पनि विशेष भूमिका रहेको छ ।

फिल्ममा अभिमन्यु निरवीको कथा, पुरुषोत्तम प्रधानको छायांकन, कविराज गहतराजको कोरियोग्राफी, शुजिल कर्माचार्यको पार्श्व संगीत, रेनिश फागोकको कलर, सत्यम राणको भिएफएक्स, मुकेश शाहको साउण्ड डिजाइन, भोला सुवेदी (प्रनव) प्रोडक्सन कन्ट्रोलर, विनय राज पौडेलको मुख्य सहायक निर्देशक र विपीन मल्ल र भुपेन्द्र अधिकारीको सम्पादन छ ।

केपी फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्ममा प्रितम लामिछाने र आध्या लामिछाने निर्माता र विशाल चौलागाई सह-निर्माता रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्