राजा राजेन्द्रको ‘सालको पात’ सार्वजनिक



रंगखबर, काठमाडौँ:  हाँस्यव्यंग्य कलाकार तथा गायक राजा राजेन्द्र पोखरेलले नयाँ गीत ‘सालको पात’ सार्वजनिक गरेका छन् । उनले असोज २ गते आफ्नो जन्मदिनको अवसर पारेर यो गीत सार्वजनिक गरेका हुन । हाँस्यव्यंग्य कलाकारका रुपमा स्थापित उनको मुख्य रुचि भने संगीत र गायन नै हो ।

ललितकला क्याम्पसबाट उनले संगीतमा आइएफए तह उत्तिर्ण गरेका छन् । उनी गीत लेखन तथा संगीत गर्ने काममा पनि उत्तिकै सक्रिय छन् । उनका टेबल फ्यान, पिरतीको चस्मा, लोकल नभई हुँदैन जस्ता गीतहरु चर्चित छन । उनी स्टेज कार्यक्रहरु सञ्चालन गर्नका निम्ति निकै माहिर मानिन्छन् । स्टेजको कम्प्लिट प्याकेज मानिने उनी आयोजकहरुको पहिलो रोजाईमा पर्ने कलाकार हुन ।

स्ट्यान्ड अप कमेडीका साथै हास्यव्यंग्य कार्यक्रम सञ्चालन गर्दै उनले नेपालका करिब ६६ जिल्लाको भ्रमण गरिसकेका छन् । कमेडी हबको परिकल्पनाकार र प्रस्तोताको रुपमा समेत काम गरिसकेका उनी गितसंगितमा दुइवटा एकल एल्बम समेत निकालिसकेका छन् । त्यस्तै करिब दर्जन भन्दा धेरै देशको भ्रमणसमेत गरिसकेका छन् । विभिन्न कार्यक्रमहरुका निम्ति देश विदेश गरिरहनु पर्ने भएका कारण उनी पस्कने सामग्रीहरुमा अपडेटेड रहने गर्छन् । सानो कुरालाई पनि हास्यव्यंग्यका रुपमा प्रस्तुत गर्न सक्ने कला भएका कारण उनी युवापुस्तामा निकै परिचित मानिन्छन् ।

जन्मदिनको अवसर पारेर आज सार्वजनिक गीतमा वैदेशिक रोजगारीमा गएका युवा साउदीको जेलमा परेपछिको पारीवारिक पीडालाई प्रस्तुत गरिएको छ । यसमा अभिनेत्री शिल्पा पोखरेलले साउदीको जेलमा परेका श्रीमानलाई झिकाउन सक्दो प्रयास गरिरहेकी श्रीमतीको भूमिका निर्वाह गरेकी छिन् । ज्ञानेन्द्र शर्मा हुमागाईँको निर्देशन रहेको यसै गीत मार्फत नव कलाकार युवराज गौतमले डेब्यु गरेका छन् । युवराजले पहिलो भिडियोमै अभिनेत्री शिल्पासँग जोडी बाध्ने अवसर पाएका छन् । कलाकार सुरवीर पण्डित अर्थात दाह्री बा र बाल कलाकार एलेक्श खड्का पनि मुख्य कलाकारको रुपमा रहेका छन् । राजा राजेन्द्रको आवाज रहेको यस गीतमा श्रमदीप चौलागाईँको शब्द र संगीत रहेको छ । भिडियोलाई दिन्सन शाहको सम्पादन गरेका हुन ।

प्रतिक्रिया दिनुहोस्