‘परदेशी–२’लाई सेन्सरले गर्यो पास



रंगखबर, काठमाडौँ: असोजको २६ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘परदेशी–२’ले प्रदर्शन अनुमति प्राप्त गरेको छ । केद्रीय फिल्म जाँच समितिले नारायण रायमाझी निर्देशित मल्टिस्टारर ‘परदेशी–२’लाई प्रदर्शन गर्न स्वीकृति प्रदान गरेको हो ।

प्रदर्शनको झण्डै ३ साताअघि आइतवार साँझ फिल्मको सेन्सर गराइएको थियो । सेन्सर बोर्डले फिल्ममा समावेश कुनै पनि दृश्य र संवादमा कैची चलाएको छैन ।

सेन्सर बोर्डका पदाधिकारीले फिल्म हेरेपछि खुलेर प्रशंसा गरेका थिए । मौलिक कथामा फिल्म बनेको भन्दै आफूहरुले शुभकामना पाएको निर्माता राजेश वंशलले बताए ।

‘देशको जल्दोबल्दो कथा रहेछ । प्रत्येक घर–घरको कथा रहेछ भन्दै तारिफ गर्नुभयो’ निर्माता वंशलले भने, ‘मौलिक कथामा मन छुने फिल्म बनेको रहेछ । फिल्म हेरेर मज्जा आयो । यस्तो फिल्महरु चल्छ भनेर शुभकामना दिनुभयो ।’

फिल्मको टीमबाट निर्माता वंशलसहित अभिनेत्री वर्षा शिवाकोटीसमेत सेन्सरमा सहभागी थिइन् । सेन्सरका क्रममा पाएको प्रतिक्रियाले थप उत्साहित बनाएको निर्माता वंशलले बताए ।

फिल्मका निर्देशक नारायण रायमाझी, कलाकारहरु अभिनेता प्रकाश सपूत, अभिनेत्री केकी अधिकारीलगायतको टिम यतिबेला देश दौडाहामा छ । मंगलवार र बुधवार बुटवलमा रहने टिम पोखरा हुँदै केही दिनमा काठमाडौं फर्किनेछ ।

युवापुस्तामा बढ्दो विदेश मोहको कथामा आधारित फिल्मलाई रमेश बिजीले लेखेका हुन् । प्रकाश, केकी र वर्षाका साथमा फिल्ममा प्रशान्त तामाङ, दिलीप रायमाझी, नीर शाह, रमा थपलिया, देवेन्द्र बब्लु, सुशील पोखरेल, सबिन बास्तोला, रोशनी कार्की लगायतको अभिनय छ । गायनमा स्थापित प्रकाशको यो डेब्यु चलचित्र हो । विभिन्न हिसावले यो फिल्मलाई प्रतीक्षित चलचित्रका रुपमा हेरिएको छ ।

प्रतिक्रिया दिनुहोस्