मण्डलामा असोज १६ बाट ‘ब्यूँझिएको सिरानी’ मञ्चन हुने



रंगखबर, काठमाडौँ: थापागाउँस्थित मण्डलानाटकघरमा असोज १६ गतेबाट नाटक ‘ब्यूँझिएको सिरानी’ मञ्चन हुने भएको छ। नाटकलाई कलाकार तथा कोरियोग्राफर जेडी तमूले निर्देशन गरेका छन्। जेडी एक दशकदेखि कोरियोग्राफी तथा अभिनयमा सक्रिय छन्।

मानसिक स्वास्थ्यको विषयमाथि कथामा तयार पारिएको नाटकमा अभिनय र नृत्यको संयोजन छ। ‘यो एउटा नाटक मात्र नभई एक सशक्त अभियान हो, जसले मानसिक दुर्बलतामाथिको मौनता तोड्ने र छलफल गर्ने गर्दछ,’ निर्देशक जेडी भन्छन्।

वाइ स्ट्यान्ड डान्स स्कुलको प्रस्तुति र इलाम गुरुङ सोसाइटीको सह प्रस्तुतिमा तयार हुने नाटकले मानसिक समस्याबाट व्यक्तिलाई बाहिर निकाल्न मद्दत गर्ने जेडीको भनाइ छ।
नाटकमा रुपेश लामा, वेदना राई, सुरज तमू, मनि के राई, सुजन सेनेहाङ, सृष्टि महर्जन, दिया शाक्य, रेनुका घर्ति मगर, मुस्कान राउत, लुनिभा महर्जन, रामचन्द्र मनेरु, ग्लोरी थापा, सृजना भट्टराई लगायतका कलाकारको अभिनय छ। नाटकमा अनिल सुब्बाले कला निर्देशन गरेका छन्।

गायिका झुमा लिम्बुले संगीत संयोजन गरेकी छन् भने प्रवृति राई, नवीन बयल्कोटी र आयुषले नाटकमा संगीत भरेका छन्।
नाटक असोज २८ गतेसम्म मञ्चन हुनेछ।

प्रतिक्रिया दिनुहोस्