‘रङ्गेली’को ओभरसिज राइट्स बिक्री



रंगखबर, काठमाडौँ:  छायाङ्कनको क्रममा रहेको फिल्म ‘रङ्गेली’को जापान, कोरिया र हङकङ वितरण अधिकार बिक्री भएको छ । फिल्मका निर्माता जीतेन्द्र खतिवडाका अनुसार उज्ज्वल गुरागाईँ र यूएनए इन्टरटेन्मेन्टले तीन देशको वितरण अधिकार खरिद गरेका हुन् ।

नेपाली फिल्मले ती देशहरूबाट प्राप्त गरिरहेको उच्चतम रकममा अधिकार बिक्री गरिएको खतिवडाले बताए । यसअघि अस्ट्रेलियामा पनि ‘रङ्गेली’ बिक्री भइसकेको छ । अस्ट्रेलियाको मेलबर्नमा माघको अन्तिम हप्ता ‘ग्रान्ड प्रिमियर’को समेत तयारी भएको छ ।

आगामी मार्च ८ तारिख (महाशिवरात्रिको दिन फागुन २५ गते)मा अस्ट्रेलिया, जापान, कोरिया र हङकङमा यो फिल्म  नेपालसँगै रिलिज हुने पक्का भइसकेको छ । सोही मितिमा रिलिज गर्न यी बाहेकका मुलुकहरूमा पनि वितरकहरूसँग सम्झौता हुने तयारीमा रहेको निर्माता खतिवडाले बताए ।

अर्जुन सुवेदीको लेखन तथा निर्देशन रहेको ‘रङ्गेली’मा दयाहाङ राई, मिरुना मगर, अर्पण थापा, प्रवीण खतिवडा, रमेश बुढाथोकी लगायतको प्रमुख भूमिका रहेको छ । हाल फिल्मको मोरङको रङ्गेली, कर्सिया, कटहरी, विराटनगर र बिर्तामोड क्षेत्रमा यसको छायाङ्कन भइरहेको छ ।

यस फिल्मको सुशान्त गौतमको सङ्गीत एक गीत युरोपको विश्व प्रतिष्ठित ‘बुढापेस्ट अर्केस्ट्रा’मा लाइभ छायाङ्कन हुनेछ । नेपाली फिल्मले पहिलो पटक यस प्रकारले गीत छायाङ्कन गर्न लागेको हो । सो गीतमा हर्क साउदको शब्द रचना रहेको छ । फिल्मका अन्य गीतहरूमा सुशान्त गौतम र हर्कुलस बस्नेतको सङ्गीत रहनेछ ।

फिल्मका कार्यकारी निर्माताहरू जीतेन्द्र खतिवडा र अनुज जङ्ग थापा हुन् । निर्माताहरू संसार चौलागाईं र रमेश भट्टराई वशिष्ठ हुन् भने युवक कार्की र शिव थपलिया सह-निर्माता हुन् । विवेक खड्का (योलो) एशोसियट निर्माता हुन् । यो फिल्मलाई सुशन प्रजापतिले छायाङ्कन गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्