‘दिमाग खराब’लाई सेन्सर बोर्डले दियो युनिभर्सल सर्टिफिकेट



रंगखबर, काठमाडौँ: यहि २४ गते शुक्रबारबाट प्रदर्शन हुने फिल्म ‘दिमाग खराब’लाई सेन्सरले पास गरेको छ। सेन्सरले फिल्म माथि कुनैपनि प्रकारको कैँची नचलाउदै युनिभर्सल सर्टिफिकेट थमाएको हो। अब भने फिल्मलाई हरेक उमेर समूहका दर्शकहरुले हेर्न पाउँनेछन ।

सिनेमा आट्र्स र ब्ल्याक हर्स पिक्चर्सको निर्माण रहेको सिनेमामा खगेन्द्र लामिछाने, दयाहाङ राई, स्वस्तिमा खड्का, अपर्ण थापा, विजय बराल, सुमन कार्की, पुष्कर गुरुङ, माओत्से गुरुङ, राजन खतिवडा, रमा थपलिया, गौरभी आरएल सिंह, गीत अधिकारी, कृष्णभक्त महर्जन, धीरज भट्ट, राहुल सिवाकोटी, नविन खड्कालगायतको पनि अभिनय छ । फिल्मका निर्देशक निश्चल बस्नेत र अभिनेत्री सुपुष्पा भट्ट पनि फिल्मको एक गीतमा विशेष भुमिकामा देखिएका छन् ।

आकाश बरालको लेखन र मनोज पण्डित स्क्रिप्ट डाक्टर रहेको फिल्म राजनीतिक विषयमा केन्द्रित रहेर निर्माण भएको हो । तिहारको अवसर पारेर प्रदर्शनमा आउने फिल्ममा रौनक विक्रम कँडेल निर्माता र सुरज बम ठकुरी कार्यकारी निर्माताको रुपमा रहेका छन् ।

फिल्ममा सुसन प्रजापतिको छायांकन, निमेष श्रेष्ठको सम्पादन, जयन के बाइबा र बाबुल गिरीको संगीत, राजकुमार उप्रेतीको द्वन्द्व निर्देशन तथा रोहित शाक्यको ब्याकग्राउन्ड स्कोर छ । फिल्मलाई काठमाडौं भित्र गोविन्द शाहीको काफिया फिल्मस् र मोफसलमा मनोज राठी र उज्वल पौडेलले वितरण गर्दैछन् ।

प्रतिक्रिया दिनुहोस्