‘हात्तीछाप’को दोश्रो टिजर हलमा रिलिज, दर्शकको गुञ्जियो हुटिङ



रंगखबर, काठमाडौँ: सिमोस सुनुवारको निर्देशनमा तयार भएको फिल्म ‘हात्तीछाप’को टिजर केही दिन अगाडि रिलिज भयो । यो टिजरलाई दर्शकले मन पराए । तर, यो फिल्मबाट अझै उत्कृष्ट सामाग्रीको अपेक्षा दर्शकलाई थियो ।
यही कुरा वुझेर, निर्माणपक्षले बिहिबारदेखि हलमा नयाँ टिजर सार्वजनिक गरेको छ । सार्वजनिक नयाँ टिजरलाई भने हलमा हिन्दी फिल्म ‘डंकी र सलार’ हेर्न पुगेका दर्शकले मन पराएका छन् ।

हलमा पुगेका दर्शकले हुटिङ र ताली बजाएका छन् । फिल्मका प्रस्तुतकर्ता किरण नेपालीले भने–‘हामीले हलमा सार्वजनिक गरेको टिजरलाई दर्शकले निकै साथ दिनुभएको छ । टिजर बज्दा दर्शक मज्जाले हाँस्नुभएको छ । साथमा, सौगात मल्लको गेटअपलाई रुचाएको देखियो ।’

फिल्मको टिजरमा विल्सन विक्रम राइले बोल्ने ‘नयाँ बाँनेश्वर र पुरानो बाँनेश्वर’ संवादलाई पनि दर्शकले निकै रुचाएका छन् । यसले, फिल्मप्रति निर्माणपक्षको आत्मविश्वास अझै बढेको छ । प्रस्तुतकर्ता नेपालीका अनुसार, युट्युबमा यही टिजरमा अन्य १ मिनेटको दृश्य थपेर ३ मिनेट लामो ट्रेलर सार्वजनिक गरिनेछ ।

यो फिल्ममा दयाहाङ राई, सौगात मल्ल, उपासना सिंह ठकुरी, बेनिशा हमाल, बुद्दि तामाङ, विल्सन विक्रम राई, बिजय बराल, सुष्मा निरौला लगायतका कलाकारको अभिनय छ ।

माघ २६ गतेबाट रिलिज हुने यो फिल्मको प्रचारमा यसको निर्माणपक्ष लागिपरेको छ । बक्स अफिसमा यो फिल्मले बम्पर व्यापार गर्ने अपेक्षा समेत गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्