स्वस्तिमाको ‘चिसो मान्छे’ भिडियोपसलमा



रंगखबर, काठमाडौँ: फिल्म ‘चिसो मान्छे’ भिडियोपसल एपमा रिलिज, नेपाल बाहिरबाट हेर्न सकिने

दर्शक र समीक्षकले निकै नै मन पराएको फिल्म ‘चिसो मान्छे’ नेपाली ओटिटि प्ल्याटफर्म ‘भिडियोपसल’मा रिलिज भएको छ । फिल्म ‘चिसो मान्छे’ अहिलेको लागी नेपाल बाहिरबाट मात्र हेर्ने व्यवस्था गरिएको छ ।

फिल्म ‘चिसो मान्छे’ कोरोनाको समयमा रिलिज भएको थियो । त्यस कारणले पनि विदेशमा बस्ने धेरै दर्शक माझ नपुगेको हुनाले फिल्मको माग उच्च रहेको भिडियोपसलका सह-संस्थापक नेहा कार्की बत्ताउँछिन् । नयाँ वर्ष २०२४ को अवसर पारेर विदेशमा रहेका नेपाली लक्षित गरेर फिल्म रिलिज गरिएको हो ।

सबै स्मार्ट डिभाइसमा भिडियोपसल एप डाउनलोड गरी फिल्म हेर्न सकिन्छ । भिडियो पसलमा २.९९ डलर देखी ५ .९९ डलरसम्म विभिन्न प्याकेज लिई 4K गुणस्तरमा पनि फिल्म हेर्न सकिन्छ । उपलब्ध फिल्महरू विदेशबाट एप्पल पे , गुगल पे, पेपल, डेबिट-क्रेडिट कार्डबाट पैसा तिरेर हेर्ने व्यवस्था गरिएको छ ।

दीपेन्द्र के खनाल निर्देशित ‘चिसो मान्छे’मा अर्पण थापा, स्वस्तिमा खड्का , देशभक्त खनाल, आशान्त शर्मा, प्रभाकर न्यौपाने, रामबाबु रेग्मीलगायतका कलाकारले पनि अभिनय गरेका छन् । फिल्मलाई शर्मिला पाण्डेले निर्माण गरेकी हुन् । कर्णाली क्षेत्रको कथा भन्ने यो फिल्ममा मानिसमा देखिएको नैरश्यताको कथालाई प्रस्तुत गरिएको छ ।

२०१७ देखी सञ्चालनमा रहेको ‘भिडियोपसल’मा यस अघि ‘छक्का पन्जा ४’ र ‘झिङ्गेदाउ’ लगायतका फिल्महरू रिलिज भई सकेका छन् । एपमा चलचित्र सँगै अन्य सर्ट फिल्महरू पनि उपलब्ध छन् ।

 

प्रतिक्रिया दिनुहोस्