फिल्म ‘मोदिबेनी’ बन्ने



रंगखबर, काठमाडौँ: काठमाडौँ: माघे सक्रान्तीको पावन अवसर पारी नेपाली फिल्म ‘मोदिबेनी’ घोषणा गरिएको छ । डिनेस्ट इन्टरटेनमेन्टको प्रस्तुतिमा बन्ने यो फिल्मलाई शङ्कर कोइरालाले निर्देशन गर्दैछन् । यो फिल्ममा दिलीप के.सी. निर्माता र हरि श्रेष्ठ सह-निर्माता रहनेछन् ।

म्युजिक भिडियो, विज्ञापन तथा सिरिज निर्माण गर्दै आइरहेको निर्माण कम्पनी डिनेस्ट इन्टरटेनमेन्टको वार्षिकोत्सवको अवसर पारी शीर्षक सार्वजनिक गर्दै फिल्म घोषणा गरिएको हो ।

करिब पैँतिस-चालिस वर्ष पहिले र हालको कथालाई मिश्रण गरी बनाइने यो फिल्मले पर्वत जिल्लाको मोदिबेनी क्षेत्रको कथा भन्ने निर्माता के.सी.ले जानकारी दिए । आनन्द बिक्रम क्षेत्रीले लेखेको यो फिल्म माघ महिनामा नै छायाङ्कनमा जानेछ ।

यस फिल्मका कलाकारहरूबारे भने जानकारी गराइएको छैन । यस फिल्ममा चर्चित कलाकारहरू रहने र केही दिनमा सार्वजनिक गरिने जानकारी निर्देशकले दिए । केही कलाकारहरू अडिशनमार्फत् समेत छनोट गरिएको जनाईएको छ ।

निर्देशक कोइरालाले विगत २० वर्षदेखि फिल्म तथा म्युजिक भिडियो सम्पादन र १० वर्षयता विज्ञापन, वृत्तचित्र, म्युजिक भिडियो तथा सिरिज निर्देशन र सम्पादन गर्दै आएका छन् । उनले निर्देशक तुलसी घिमिरेका केही फिल्म सम्पादन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्