कास्कीकोटबाट ‘पुजार सार्की’को शुभ मुहूर्तसंगै छायांकन सुरु



रंगखबर, काठमाडौँ: अभिनेता त्रय आर्यन सिग्देल, प्रदीप खड्का र पल शाहले एकसाथ अभिनय गर्न लागेको महत्त्वाकाङ्क्षी फिल्म ‘पुजार सार्की’को शुभ मुहूर्त भएको छ । मङ्गलवार कास्की जिल्लाको कास्कीकोटमा भएको मुहूर्तसँगै फिल्म छायाङ्कनमा गएको छ ।

आइतबार फर्स्ट लुक पोस्टर सार्वजनिकसँगै फिल्म युनिट कास्की जिल्लाको कास्कीकोट गाउँ पुगेको थियो । फिल्मको छायाङ्कन सोही गाउँमा हुनेछ ।

निर्देशक राउतले यो फिल्मलाई जातीय विभेद विरुद्ध समाजका तीन पात्रहरूले गर्ने साझा सङ्घर्षको कथा रहेको बताएका छन् । यो फिल्मलाई विकास सुवेदीले लेखेका छन् । यसअघि विकास र दिनेशले फिल्म ‘प्रकाश’मा सहकार्य गरेका थिए ।

फिल्ममा अभिनेत्री द्वय अन्जना बराइली र परीक्षा लिम्बुले पनि प्रमुख भूमिकामा अभिनय गर्दैछन् । बराइलीले यसअघि फिल्म ‘महापुरुष’मा अभिनय गरेकी थिइन् । परिक्षाले ‘जारी’ र ‘छक्का पन्जा ४’मा अभिनय गरेकी छन् । साथमा, मोहन निरौला, लोकेन्द्र लेखक, सुवास गजुरेल, विद्या कार्की, तारा शर्मा, शङ्कर आचार्य, प्रेम सुब्बा, गोविन्द रमण पराजुली, राजेश बिसुराल लगायतको अभिनय रहनेछ ।

फिल्मलाई सङ्गीतकार सुवास भुसालले निर्माण गर्दैछन् । एक दर्जन फिल्ममा सङ्गीत दिएका भुसालले पहिलो पटक फिल्म निर्माण गर्न लागेका हुन् ।  फिल्ममा भुसाल आफैले सङ्गीत तयार गरेका छन् । हर्क साउद, बि. पाण्डे, दिनेश राउत र गणेश शाहीले यसका गीत रचना गरेका छन् । प्रकाश सपूत, शान्ति श्री परियार र केतन क्षेत्रीले गीतमा स्वर दिएका छन् ।

राजेश श्रेष्ठको डिओपी रहने ‘पुजार सार्की’लाई सुप्रिम पराजुलीले सम्पादन तथा कलर ग्रेडिङ गर्नेछन् भने साउण्ड डिजाइन उत्तम न्यौपाने, ब्याकराउण्ड स्कोर शैलेश श्रेष्ठ, कस्ट्युम डिजाइन आशिष पौडेल, प्रोडक्शन डिजाइन कसम नेपाल, प्रोडक्शन कन्ट्रोल मनोज जोशी र प्रोडक्शन व्यवस्थापन विदुर मानन्धरले गर्नेछन् ।

हिमाल केसीले द्वन्द्व निर्देशन गर्ने ‘पुजार सार्की’का मुख्य सहायक निर्देशक दिनेश बहादुर रावत हुन् भने राजेश राज गिरी, तर्क राज न्यौपाने र आयुष दाहाल सहायक निर्देशक रहेका छन् । यसका कला निर्देशक दिनेश लामा (गैँडा) हुन् भने माधव प्रसाद पाण्डेको मेकअप र प्रिया रोक्काको मेकअप रहनेछ । यो चलचित्र किङ्गडम नेटवर्कको ब्यानरमा बन्नेछ भने आरआर फिल्मसले वितरण गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्