सङ्गीता श्रेष्ठ निर्देशित ‘चल्ने हावालाई’ सार्वजनिक



रंगखबर, काठमाडौँ: महिला शसक्तिकरणको विषयलाई समेटेर निर्देशक सङ्गीता श्रेष्ठले निर्देशन गरेको म्युजिकल फिल्म ‘चल्ने हावालाई’ सार्वजनिक गरिएको छ । शनिवार साँझ ललितपुरस्थित युनाइटेड एकेडेमीमा आयोजित एक कार्यक्रमका बीच उपसभामुख इन्दिरा रानाको प्रमुख आथित्यतामा उक्त बाह्र मिनेट लम्बाई रहेको म्युजिक फिल्म सार्वजनिक गरिएको हो ।

उक्त म्युजिकल फिल्म हेरिसकेपछि उपसभामुख रानाले प्रसंशा गर्दै उदेश्य बोकेर सङ्घर्ष गरेमा सफलता हात पर्ने बताइन ।

‘म आफैँ पनि बाल्यकालमा निकै सङ्घर्ष गरेर स्कुल पुगेकी थिएँ । तर, मैले आफ्नो मेहनतले बर्षौदेखि स्कुल गइरहेका भन्दा बढी नम्बर ल्याएर स्कुल टप गरे । त्यसैले हामीले आफ्नो उदेश्य र त्यसलाई प्राप्त गर्ने सङ्घर्ष छोड्नु हुँदैन’, उपसभामुख रानाले भनिन्,‘यहाँ छोरीले गर्न सक्दिनन् की भन्ने सोच्ने नभएका होइनन् तर हामीले उनीहरूलाई काम गरेर देखाउनु पर्छ । यस्ता म्युजिकल फिल्ममार्फत छोरीलाई गरिने विभेदलाई कम गर्न सचेतनाको संदेश प्रवाह हुन्छ ।’

उनले आफ्नो बाल्यकालको सङ्घर्ष, काठमाडौँ आएपछिको अवस्था र अहिलेसम्मको यात्रा कुनै फिल्म भन्दा कम नभएको भन्दै निर्देशक श्रेष्ठलाई प्रेरणादायी लघु चलचित्र निर्माणका लागि सोच बनाउन आग्रह गरिन् ।

निर्देशक श्रेष्ठले ‘चल्ने हावालाई’ मार्फत छोरीहरूलाई छोराझैँ समान रुपमा हेर्न र बुझ्न आग्रह गरिएको बताइन ।
‘हामी छोरालाई दिने अवसर किन छोरीलाई दिन सक्दैनौँ ? के उनीहरूमा योग्यता छैन र ? कि हाम्रो सोच नै अयोग्य छ ? यस्ता विषयमा सोच्नु पर्ने समय आएको छ’, निर्देशक श्रेष्ठले भनिन्,‘यो गीत सुनेपछि यसको शब्द अनुसार एउटा कथा फुरेपछि म्युजिकल फिल्मको रुपमा तयार गरेका हौँ । छोरीलाई अवसर दिनका लागि हामीले मन र सोच सुन्दर र फराकिलो बनाउनै पर्छ ।’

उक्त कार्यक्रममा म्युजिकल फिल्ममा देखिएकी बाल कलाकार तथा निर्देशक श्रेष्ठकी छोरी सम्वृद्धि श्रेष्ठ आफ्नो प्रतिभा उजागर गर्दै उक्त गीत लाइभ गाएकी थिइन् । उक्त गीतमा सञ्चिता लुइँटेल, बेनिसा हमाल, गजित बिष्ट, सोनिका बास्तोला, थमन सिंह पुर्जा, क्रिस केसी लगायतका कलाकारले अभिनय गरेका छन् ।

निर्देशक श्रेष्ठको कामदेखि आफू हरेक पटक प्रभावित भएको भन्दै अभिनेता विष्टले प्रशंसा गरे । ‘मैले सङ्गीताजीसँग कथा प्रेमका नामक शृङ्खलामै काम गरेको थिएँ । त्यस समयदेखि नै उहाँले निर्माण गर्ने फिल्म, शृङ्खला वा म्युजिक भिडियो भएपनि त्यसमा मनोरन्जनसँगै संदेश हुन्छ । यो हेर्नका लागि मात्र नभई हाम्रो सोचाइ परिवर्तन गर्ने भिडियो बनेको छ । म यसमा जोडिन पाउँदा गौरवान्वित महसुश गरिरहेको छु’, अभिनेता विष्टले भने ।

म्युजिकल फिल्म हेरिसकेपछि नेपाल प्रहरीका पूर्व महानिरीक्षक सर्वेन्द्र खनालले समाजमा देखिने नकारात्मक कुराहरूलाई गीतसङ्गीतमार्फत उठाइएको भन्दै सफलताको शुभकामना दिए ।

प्रतिक्रिया दिनुहोस्