फिल्म ‘रुखान’ निर्माण घोषणा, सविरले निर्देशन गर्ने



रंगखबर, काठमाडौँ: निर्देशक सविर श्रेष्ठको निर्देशनमा नयाँ फिल्मको घोषणा गरिएको छ । सविरको निर्देशनमा फिल्म ‘रुखान’ निर्माणको घोषणा गरिएको हो । यो फिल्मलाई ४ वटा भाषामा निर्माण गरिने निर्माणपक्षले जानकारी दिएको छ । फिल्मलाई नेपाली, अंग्रेजी, हिन्दी र भोजपुरी भाषामा निर्माण गरिने छ ।
कृष्ण थापा (अष्ट्रेलिया) र सुरेश गुरुङको निर्माणमा बन्ने यो फिल्ममा डाक्टर रुपक घिमिरेको कथा रहेको छ । फिल्मका कार्यकारी निर्माता नायक सविन श्रेष्ठ हुन् । फिल्ममा अर्जुन पोखरेलको संगीत, अभिमन्यू निरवीको पटकथा तथा संवाद रहनेछ ।

यो फिल्म सविन फिल्मस्, भिक्टोरी प्रोडक्शन हाउस प्रा.लि र काइट्स इन्टरटेन्मेन्टको व्यानरमा निर्माण हुन लागेको हो । फिल्म निर्माणमा आवरण स्किन एण्ड हेयर क्लिनिकले पनि सहकार्य गरेको छ ।

सार्वजनिक फिल्मको फस्टलुकमा एक जना महिला न्यायका लागि मुठ्ठी कसेर बिद्रोहमा उत्रिएको देखिन्छ । यस्तै, मुखमा अक्सिजन लगाएर उपाचार गराइरहेका एक यूवालाई पनि पोस्टरमा देखाइएको छ । फिल्मको फस्टलुकमा ‘न्याय देउ’ भनेर लेखिएको छ । पोस्टरमा आन्दोलनको झलक दिने तस्विर समेत समावेश गरिएको छ । फस्टलुकले यो फिल्मले आम नागरिकको समस्याको कथा भन्ने संकेत गरेको छ ।

फिल्मको बिषयमा निर्देशक सविर श्रेष्ठले भने–‘यो एक महिलाको संघर्षको कथा हो । यो कथाबाट हामीले सिंगो देशका नागरिकहरुको समस्यालाई भन्ने प्रयास गर्नेछौं ।’ फिल्मको मुख्य पात्रमा महिला कलाकार हुने सविरको भनाई छ । उनका अनुसार, कलाकारहरु फाइनल गर्ने क्रम जारी छ । चाडै नै, फिल्मको मुख्य कलाकारको नाम घोषणा गरिने सविरले बताए ।

प्रतिक्रिया दिनुहोस्