सकियो ‘सिटामोल’को छायांकन, गाउँले पोसाकमा देखिए सौगात र बेनिशा



रंगखबर, काठमाडौं: अभिनेता सौगात मल्ल र अभिनेत्री बेनिशा हमालको मुख्य भूमिका रहेको फिल्म ‘सिटामोल’को छायांकन सकिएको छ । फिल्ममा सौगात र बेनिशा श्रीमान श्रीमतीको जोडीमा देखिने छन् ।
छायांकन सकिएसँगै निर्माण टिमले सौगात र बेनिशाको ‘क्यारेक्टर लुक्स’ तस्वीर पनि सार्वजनिक गरेको छ । तस्वीरमा दुवैलाई गाउँले पोसाकमा देख्न सकिन्छ। एक तस्वीरमा सौगातले बैसाखी टेकेको पनि देखिन्छ ।
फिल्ममा उनी जनयुद्धको घाइतेको भूमिकामा छन् ।

फिल्म ‘झ्यानाकुटी’पछि अभिनेता सौगात मल्ल र अभिनेत्री बेनिशा हमालले फेरि एकसाथ फिल्म ‘सिटामोल’मा काम गरेका हुन । राज बहादुर सानेको लेखन तथा निर्देशन रहेको फिल्मको यसै हप्ता सिन्धुलीको सेड्युल सकिएको छ । अब काठमाडौंका केही दृश्य र एक गीत मात्र छायांकन गर्न बाँकी रहेको निर्देशक सानेले जानकारी गराएका छन ।

माओवादी जनयुद्धको पृष्ठभूमिमा आधारित भएर बनेको फिल्ममा लोकेन्द्र लेखक, भुगोल कार्की, हिउँवाला गौतम, पवन भट्टराई, दिनेश रेग्मी, समिप निरौला, जानुका विश्वकर्मा, ज्ञानु सेञ्चुरी, काजल भुजेल र बालकलाकार करण नेपाली, आराध्या राज्यलक्ष्मी डिसीको पनि अभिनय छ । तुलसीदेवी फिल्मको प्रस्तुति रहेको फिल्मलाई आगामी तीजमा प्रदर्शन गर्ने योजनामा निर्माण टिमको रहेको छ ।

फिल्मको गीतमा बाबुल गिरीको संगीत रहेको छ भने दिव्य सुवेदीको छायांकन छ । भुगोल कुमार कार्की निर्माता रहेको फिल्मको कार्यकारी निर्मातामा रामचन्द्र उपाध्यय, अप्सरा नेपाली, गंगाराम श्रेष्ठ, अजय कुमार बिक र कुमार केसी छन् ।

प्रतिक्रिया दिनुहोस्