पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले फिल्म  ‘महाजात्रा’ हेरेर के भने ?



 

 

रंगखबर, काठमाडौँ : नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले फिल्म  ‘महाजात्रा’ हेरेका छन् । सोमबार बेलुकी सुन्धारास्थित सिने डी सेफमा श्रीमती राधिका शाक्यसहित नेताहरूको साथमा  फिल्म  हेर्न पुगेका हुन् । ओलीले भरपुर इन्जोय गरेको बताए साथै उनले फिल्म हेरेपछि १० मा ९.५ रेटिङ समेत दिएका छन् ।।

फिल्म राम्रो बन्न सन्देश दिने कथा र त्यसलाई सम्प्रेषण गर्ने अभिनय चाहिन्छ, यी दुबै पक्ष महाजात्रामा सशक्त छन् । यसले बाटो बिराएकालाई सही मार्गमा हिँड्न प्रेरणा दिन्छ । पहिलो हाफमा मनोरञ्जन र दोस्रो हाफमा सन्देश दिएको छ । फिल्म काल्पनिक कथामा बन्छ र राजनीति यथार्थमा चल्छ । त्यसकाकारण, फिल्मबाट गलत कार्यमा लागेकालाई सही बन्न प्रेरणा मिल्छ ।’

अध्यक्ष ओलीसँगै ईश्वर पोखरेल, शंकर पोखरेल, प्रदीप ज्ञवाली, रघुजी पन्त, कोमल ओली लगायतका ४० नेताले फिल्म हेरेका थिए । फिल्म  अवधिभर मनोरञ्जनसँगै सन्देश  प्राप्त गरेको गायिका तथा नेत्री कोमल ओलीले बताइन् ।

फिल्म हेर्न पुगेका नेताहरूलाई फिल्मका निर्देशक प्रदीप भट्टराई, कलाकारहरू हरिवंश आचार्य, विपिन कार्की, रविन्द्र सिंह बानियाँ, अरविन खड्का लगायतले भेटेर धन्यवाद दिएका थिए । यसअघि यो फिल्म पूर्व रानी कोमल राज्यलक्ष्मी देवी शाह र उप–प्रधान तथा गृहमन्त्री रवि लामिछानेले पनि हेरिसकेका छन् । षट्कोण आर्ट्सको ब्यानरमा बनेको यो फिल्मले रिलिजको ४ दिनमा करिब ५ करोड ग्रस कलेक्शन गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्