‘डिग्री माइला’ टिम पुर्वका दर्शक भेट्न निस्किए



रंगखबर, काठमाडौँ: शुक्रबारबाट रिलिज भएको फिल्म ‘डिग्री माइला’ले दर्शकहरुको मन जितीरहेको छ। रिलिजताका देखिने काठमाडौँका हल हल पुगेका फिल्मका कलाकारहरु अबभने काठमाडौँ बाहिरका दर्शकसँग साक्षतकार गर्न पूर्वी नेपाल निस्केका छन। फिल्मका मुख्य कलाकार दयाहाङ राई, आचल शर्मा, बिजय बराल र कार्यकारी निर्माता मणिराम पोखरेल अहिले भ्याली बाहिर निस्कीसकेका छन।

बिराटनगरबाट सुरु हुने यो भेटघाट बिर्तामोड पुगेर टुङगिने निर्माता मणिराम पोखरेलले बताएका छन् । पोखरेल भन्छन ‘मङगलबार बिहान १० बजे बिराटनगर स्थित क्यूएफएक्स सिनेमा हलमा पुगेर प्रेस तथा ११:३० को शोमा फिल्म हेर्न आएका दर्शकहरुसँग भेटघाट एवम् संवाद गर्नेछौं।’

यसक्रममा उनीहरु विराटनगरका, विभिन्न हलमा पुग्नेछन् ।

बिराटनगरपछि टिम इटहरीका दुई वटा हल इलाइट फिल्म हल र इटहरी क्यूएफएक्स पुग्नेछ भने साँझमा ५ बजे धरान स्थित फ्रेण्ड्स सिनेमाज पुग्नेछ । यस्तै टिम बुधवार बिहान ११ बजे दमक स्थित डि म्याक्स फिल्म हल र दिउँसो २ बजे बिर्तामोड क्यूएफएक्स र ५ बजे पाथिभरा सिनेप्लाजामा जाने पोखरेलको भनाइ छ ।

स्टार निर्देशक रामबाबु गुरुङ निर्देशित फिल्मले वक्सअफिसमा सुखद व्यापार गरिरहेको छ । वितरकका अनुसार दुई दिनमा ३ करोड ६ लाख कमाइ गरेको फिल्मको कमाइ तेश्रो दिनमा झण्डै ४ करोडको निकट पुगेको छ ।

तेश्रो दिनमा फिल्मले सोचे अनुसारको व्यापार गरेको जानकारी वितरक गोविन्द शाहीले दिएका छन् । उनले तेश्रो दिनको व्यापारिक रिपोट र दर्शकको प्रतिक्रियाले फिल्मले वक्सअफिसमा राम्रो व्यापार गर्नेमा आफूहरु ढुक्क भएको बताए ।

बाँसुरी फिल्मस्ले कबड्डी फिल्मस् तथा सुस्मा फिल्मस्सँग मिलेर निर्माण गरेको सिनेमाका निर्माताहरु विशाल गुरुङ, मणिराम पोखरेल, मधु मिजार तथा सुष्मा गुरुङ रहेका छन् ।

फिल्मका कार्यकारी निर्माता क्रिश लामा हुन् । फिल्ममा निमेष श्रेष्ठको सम्पादन तथा रोहित शाक्यको ब्याकग्राउण्ड म्यूजिक रहेको छ । यस्तै फिल्मलाई दुई क्यामराम्यान शिवराम श्रेष्ठ तथा राइली एस शिनले खिचेका छन् ।

प्रतिक्रिया दिनुहोस्