अप्रिल बक्स अफिस: नेपालमा हरियाली, बलिउडमा खडेरी



रंगखबर, काठमाडौँ – घरेलु बक्सअफिसको लागि अंग्रेजी महिना अप्रिल निक्कै सुखद रह्यो। यसबीचमा ‘महाजात्रा’ र ‘बोक्सीको घर’ले सुपरहिटको व्यापार गर्दा ‘डिग्री माइला’ र ‘मनसरा’ले केहि दिन दर्शकको साथ पाए।

तर छिमेकी फिल्म उद्योग बलिउडले भने अप्रिलमा दर्शकको खडेरी सहनु पर्यो। अप्रिल बलिउडका लागि डिजास्टर सावित भयो। अप्रिलमा रिलिज पाँच बलिउड फिल्मले बक्सअफिसमा ठुलो घाटा बेहोरे।

इदको अवसरमा रिलिज भएका अजय देवगनको ‘मैदान’ र अक्षय कुमार/टाइगर श्रोफ स्टारर ‘बडे मियाँ छोटे मियाँ’को असफलताले बलिउडलाई झट्का दिएको छ।

२ सय ५० करोडको बजेटमा निर्मित ‘मैदान’ले ४८ करोड कमाउन सक्यो। यस्तै ३ सय ५० करोडको ‘बडे मियाँ छोटे मियाँ’ले जेनतेन ६० करोडको आँकडा पार गर्न सफल भयो। यी दुई फिल्मले मात्रै करिब ५ सय करोडको घाटा बेहोर्दा अन्य तीन न्यून लगानी भएका फिल्मको पनि उस्तै हालत भयो।

‘दो और दो प्यार’, ‘लभ सेक्स और धोका २’ र ‘रुस्लान’को व्यापार १० करोडपनि छुन सकेन।

कोरोनापछि अप्रिल महिनामा बलिउडको व्यापार कमजोर बन्दै गैरहेको छ। हिन्दि डब गरिएका साउथ फिल्मले विगतका अप्रिल महिनामा राम्रो व्यापार गरेपनि बलिउडले आफ्नो साख जोगाउन सकिरहेको छैन। बलिउडले अन्तिम अप्रिल हिट पाँच वर्ष अगाडी पाएको थियो। २०१९ मा रिलिज ‘द ताशकेन्ट फाइल्स’पछि अप्रिलमा बलिउडका कुनै पनि फिल्म सफल बन्न सकेका छैनन्।

प्रतिक्रिया दिनुहोस्