बोक्सीको घर: चार वर्षपछिको सफल महिलाप्रधान फिल्म



रंगखबर, काठमाडौँ – नेपालमा महिलाप्रधान फिल्म त्यति बन्दैनन्। जति बन्छन व्यवसायिक सफलता कमैले पाउछन। त्यसैले त वर्षौपछि यस्ता फिल्मको सफलताले उद्योगमा तरंग पैदा गर्छ।

तस्विर: केकीको फेसबुकबाट

अहिले घरेलु बक्सअफिसमा केकी अधिकारी स्टारर फिल्म ‘बोक्सीको घर’ले उत्साहजनक व्यापार गरिरहेको छ। शुद्ध महिलाप्रधान फिल्मको हकमा नेपाली चलचित्र क्षेत्रले ४ वर्षपछि सफलताको स्वाद चाख्यो। २०७७ को अन्तिममा रिलिज मिथिला शर्मा र सुरक्षा पन्त स्टारर ‘आमा’ पछिल्लो महिलाप्रधान हिट फिल्म थियो।

केकी र आंचल शर्माले ‘झिङ्गेदाउ’लाई काँधमा बोकेपनि कथावाचनका हिसावले यो महिलाप्रधान फिल्म थिएन। तर पुरुष कलाकारको हालीमुहाली रहने नेपाली बक्सअफिसमा केकी र आंचल स्टारर ‘झिङ्गेदाउ’को सफलताले ठुलो अर्थ राख्छ।

कोरोना महामारीपछि महिलाप्रधान फिल्म निर्माणमा लगानी बढेपनि व्यावसायिक सफलता भने न्यून छ। कोरोना कालपछि दर्जनबढी महिलाप्रधान फिल्म रिलिज भएका छन्। यसबीचमा रिलिज ‘कठपुतली’, ‘चि मुसी चि: इभन डेड डिजाएर विलन्गिंग’, ‘द सेक्रेट अफ: राधा’, ‘चिसो मान्छे’, ‘उपहार’, ‘जुलेवी’, ‘बगान’, ‘परस्त्री’, ‘बुलाकी’, ‘पासो’जस्ता फिल्मले व्यवसायिक घाटा बेहोरेका थिए।

प्रदर्शनको ९ दिनसम्म ७ करोड माथिको व्यापार गरेको ‘बोक्सीको घर’ नेपाली चलचित्रको इतिहाँसमा सर्वाधिक व्यापार गर्ने महिलाप्रधान फिल्म बनेको छ। त्यस्तै यो सुरुवाती दिनमा उत्कृष्ट व्यापार गर्ने पहिलो महिलाप्रधान फिल्मपनि हो।

ह्याट्रिक दौडमा केकी

केहि वर्ष अगाडीसम्म केकी अधिकारीलाई अभागी अभिनेत्रीको रुपमा व्याख्या गरिन्थ्यो। उनि अभिनित फिल्म लगातार असफलहुँदा केकीलाई बक्सअफिसको दवाव थियो। तर ‘छ माया छपक्कै’पछि भने समय फेरिएको छ। पछिल्लो ५ वर्षमा ‘बोक्सीको घर’ उनको चौथों सफल फिल्म हो। केकी अभिनित पछिल्लो ‘परदेशी २’पनि सफल फिल्म हो। लगातार दुईको फिल्मको सफलताले केकीलाई ह्याट्रिकको दौडमा उभ्याएको छ।

 

प्रतिक्रिया दिनुहोस्