‘महाजात्रा’ प्रदर्शनको ५१ दिन पार



रंगखबर, काठमाडौँ – प्रदीप भट्टराई निर्देशित फिल्म ‘महाजात्रा’ले हलमा प्रदर्शनको ५१ दिन पार गरेको छ। गत वर्षको चैत ९ देखि प्रदर्शनरत फिल्मले शनिबार देशका ९ हलमा यो उपलब्धि हाँसिल गरेको हो।

निर्माण पक्षका अनुसार यो फिल्मले ५१ दिनसम्म १६ करोड नेपाली रुपैयाँ ग्रस कलेक्सन गरेको छ। गत वर्ष प्रदर्शनमा आएका फिल्म मध्ये यो सर्वाधिक कमाई गर्ने दोस्रो फिल्म हो। १७ करोड ३० लाख ग्रस कलेक्सनसहित ‘जारी’ पहिलो नम्बरमा यथावत छ।

विपिन कार्की, हरिवंश आचार्य, रविन्द्र झा, रविन्द्र सिंह बानियाँ, वर्षा राउतलगायतको अभिनय रहेको फिल्मले काठमाडौँ उपत्यकामा क्यूएफएक्स, बिग मुभिज, एफक्युब सिनेमाज्, आइएनआइ, वान सिनेमाज्, बीएसआर मुभिज्, रञ्जना सिनेप्लेक्स, सिके सिनेमाज् र उपत्यका बाहिर नेपालगंजको सिने रोयलमा ५१ दिने यात्रा तय गरेको हो।

निर्माण पक्षले शनिबार राजधानीको क्युएफएक्स सिभिल मलमा सेलेब्रेसन कार्यक्रम राखेको छ

‘जात्रा’ शृंखलाको ह्याट्रिक, प्रदीपको पाँचौं सुपरहिट

२०७३ साल कार्तिकमा रिलिज ‘जात्रा’बाट निर्देशकीय यात्रा सुरु गरेका प्रदीप भट्टराईको ‘महाजात्रा’ पाँचौं सुपरहिट फिल्म हो। ‘जात्रै जात्रा’, ‘शत्रुगते’, ‘महापुरुष’सहित उनका पाचैं फिल्मले ५१ दिने प्रदर्शनको रेकर्ड राखेका छन्।

योसंगै ‘जात्रा’ शृंखलाले ५१ दिने प्रदर्शनको ह्याट्रिक स्वाद चाखेको छ। नेपालमा सर्वाधिक सफल कमेडी शृंखला ‘छक्का पन्जा’ र ‘कबड्डी’को समुहमा ‘जात्रा’पनि समावेश भएको छ। यी शृंखलाका सुरुवाती तीन भाग बक्सअफिसमा सफल ठहरिए।

प्रतिक्रिया दिनुहोस्