‘मेहनत अनुसारको फल पाइने वा नपाइने त्यो सबै दर्शकको हातमा छ’, अनमोल केसी



रंगखबर, काठमाडौँ: अभिनेता अनमोल केसी यतिबेला आगामी जेठ १० गतेबाट रिलिज हुने फिल्म ‘फर्की फर्की’ को प्रमोसनमा व्यस्त छन् । दर्शकमाझ रोमान्टिक हिरोको छवि बनाएका अनमोल त्यही छविलाई लिएर दर्शकमाझ आउँदैछन् ।

अनमोल ‘फर्की फर्की’ प्रति आशावादी छन् । झण्डै एक वर्षपछि दर्शकमाझ आउन लागेका उनी दर्शकको माया पाउनेमा आफू विश्वस्त छन् । ‘कलाकारको दायित्व भनेको फिल्म रिलिज नहुन्जेलसम्म मेहनत गर्ने हो, फिल्म चलेपछि कस्तो होला वा नहोला भन्ने आशा राख्नु दर्शकको हातको कुरा हो’, उनी भन्छन् ।
मेहनत अनुसारको फल पाइने वा नपाइने त्यो सबै दर्शकको हातमा हुने उनको बुझाई छ । ‘हामीले जति मेहनत गरे पनि कहिलेकाँही मेहनतको फल पाइन्छ, कहिले पाइँदैन पनि । म अहिलेसम्म मेरा फिल्म सुपरहिट हुँदा न धेरै मात्तिएको छु, न त आत्तिएको नै’, अनमोल भन्छन् ।

अनमोलको अनुभवमा उनका लागि ‘फर्की फर्की’ मानसिक रुपमा चुनौतिपूर्ण नै थियो । किनकी उनले गत वर्ष मानसिक रुपमा कमजोर पनि थिए । ‘मेरो शक्तिलाई पुनः बाहिर ल्याउनका लागि मानसिक दबाबका बाबजुद पनि फर्की फर्कीमा काम गर्नु ठूलो चुनौती थियो । त्यहीकारण धेरै प्रोजेक्टमध्ये मैले फर्की फर्की नै छानें’ उनी भन्छन् । फिल्मको ट्रेलरमा अनमोलले आफूलाई ‘भगवान’ भनेको देखाइएको छ । उनले फिल्मको संवादमा आफू भगवान भने पनि आफूलाई चाहिँ भगवान नमान्ने गरेको बताए । ‘जो मान्छेले समयलाई नियन्त्रण गर्न र अघिपछिको जीवनलाई परितर्वन गर्न सक्छ, त्यो सन्दर्भमा आफूले आफूलाई जहिल्यै पनि भगवान महशुस गर्ने हो । यो रामायण वा महाभारतको जस्तो भगवान जस्तो होइन । फिल्मको पात्रले ऊ भगवान हो भन्ने चिजमा विश्वास गर्छ’, अनमोल भन्छन्, ‘जब कसैलाई आफूलाई महान अनुभव हुन्छ कि यो दुनियाँ नै मेरो कब्जामा छ । उसले जब मैले जे गरे पनि सही हो, म गलत हुन सक्दैन अनुभव गर्छ, तब नै आफूले आफूलाई भगवानको महशुस गर्छ । फिल्मको स्क्रिप्टमा भगवान भन्ने कुरा आए पनि फिल्ममा म्याडीको समयमा उसको संघर्षदेखि उसको गलत समय, सही समय, परिवारसँग र साथीभाईसँगको सम्बन्धको कुरा देखाइएको छ । फिल्मले मास अडियन्सले नै रिलेट गर्न सक्छ ।’

अनमोल दर्शकले आफूलाई अघिल्ला फिल्ममा भन्दा ‘फर्की फर्की’मा केही फरक रुपमा देख्न पाउने बताउँछन् । ‘जुन बेला अभिनयको ‘अ’ पनि थाहा थिएन, त्यो समयमा मैले ‘होस्टेल’, ‘जेरी’, ‘ड्रिम्स’ मा अभिनय गरें । यी फिल्मलाई दर्शकले मनपराउनुभयो । अहिले कलाकारका रुपमा समय, अनुभव र दक्षताले पनि धेरै कुरा सिक्ने मौका पाएको छु । यी फिल्ममा भन्दा ‘फर्की फर्की’मा अझ बेटर एक्टर देख्न सक्नुहुनेछ । प्रेमकथा मनपराउनेलाई ‘फर्की फर्कीमा प्रेमकथा नै छ । मेरो प्रेमकथा हेरेर दिक्क लागेका दर्शकलाई ट्राभलको कथा पनि छ’, उनी भन्छन् ।
आफूलाई अरुले आलोचना गर्दा त्यो आलोचनामा अनमोलको बुझाई फरक रहेछ । ‘बाहिरको भुस्याहा कुकुरले टोकेको भन्दा घरभित्र आफूले पालेको कुकुरले टोक्दा झन मन दुख्छ । त्यही भएर बाहिरको मान्छेले कुरा काट्दा मलाई खासै फरक पर्दैन । तर मेरो घर, परिवार, साथीहरुले विश्वास गरेनन् भने चाहिँ मन दुख्छ । बाहिरको आलोचनाले खासै फरक पार्दैन,’ उनी भन्छन् ।

अभिनेत्री जसिता गुरुङसँग अनमोल पहिलोपटक यो फिल्ममा स्क्रिन शेयर गर्दैछन् । उनका लागि जसितासँगको सहकार्य सहयोग रहेछ । दर्शकले राम्रो जोडीका रुपमा आफूहरुलाई चित्रण गरेको अनमोलको बुझाई रहेछ ।
फिल्मका निर्देशक सुयोग गुरुङसँग उनको सहकार्य अनुभव राम्रो रहेछ । आफ्ना सुरुदेखिको फिल्म नयाँ निर्देशकसँगको सहकार्यले सुपरहिट भएकाले ‘फर्की फर्की’मा पनि त्यो आशा अनमोलमा जीवित नै रहेछ । ‘नयाँ निर्देशकसँगको कामले नयाँ कुरा दिन सकिन्छ । नयाँ निर्देशकको फिल्ममा मार्क हुन सकियो भने आफ्ना लागि पनि फाइदाको कुरा हो । अहिलेको कन्टेन्ट नयाँ पुस्तासँग अनुुकुल भएकाले पनि फिल्मप्रति आशावादी छु’, उनी भन्छन् ।
अनमोलले अहिलेसम्म फिल्ममा गाउँले चरित्रमा अभिनय गरेका छैनन् । जति पनि अभिनय गरेका छन्, सबै सहरीया चरित्रमा नै छन् । ‘मलाई गाउँले चरित्रको अफर आए पनि मैले कलाकारको रुपमा त्यो चिज निर्वाह गर्न सक्छु कि सक्दिनँ भन्ने प्रश्न हो । आयो भने पनि समाज, खानपिन, बसाई, संस्कृति बुझेर गर्न सक्छु । तर आउनासाथ हुन्छ भन्दिनँ । जुन दिन त्यो चिजको ज्ञान ममा आउँछ त्यो दिन म गाउँले चरित्र गर्छु । अहिलेसम्म मैले जस्तो किसिमको योजनाहरु बनाइरहेको छु, त्यो अहिले नै आइपुगेको छैन’, उनी खुल्छन् ।

प्रतिक्रिया दिनुहोस्