‘पूर्ण बहादुरको सारङ्गी’मा थप तीन जना कलाकारहरू अनुबन्धित



रंगखबर, काठमाडौँ: फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’मा कलाकारहरूको रोचक लाइनअप तयार हुने क्रम जारी छ ।

अन्तर्राष्ट्रिय रुपमा फिल्म वितरण गर्दै आएको कम्पनी सेभेन सिज इन्टरटेनमेन्टले निर्माण गर्न लागेको फिल्मका लागि मुख्य भूमिकामा गायक तथा कलाकार प्रकाश सपूत र मुकुन भुसाल यसअघि नै अनुबन्धित भइसकेका छन् ।

सेभेन सिज सिनेमाको प्रस्तुतिमा बन्न लागेको यो फिल्ममा प्रकाश र मुकुन पछि थप तीन जना कलाकारहरू अनुबन्धित गराएको छ ।

अभिनयका कारण चिनिँदै आएका कलाकार विनोद न्यौपाने, कलाकार भोला राज सापकोटा र देशभक्त खनाललाई निर्माण पक्षले अनुबन्धित गराएको छ । फिल्ममा उनीहरुको भूमिकाको बारेमा अहिले केही पनि खुलाइएको छैन ।

‘पूर्ण बहादुरको सारङ्गी’मा पनि उनीहरूलाई शीर्ष भूमिका देख्न सकिने निर्माता विनोद पौडेलले जनकारी गराएका छन् ।

सोसल–ड्रामा बन्ने फिल्मका मौलिक कथाको एक गहन विषयलाई उठान गर्न लागेको बताइएको छ । फिल्मका लेखक तथा निर्देशक सरोज पौडेल हुन् ।

जेठको दोस्रो साताबाट छायांकनमा जाने तयारी गरेको फिल्मको लागि अभिनेता र अन्य कलाकारहरू फाइनल भए पनि निर्माण पक्षले अभिनेत्री र अन्य कलाकारका बारेमा गोप्य राख्न चाहेका छन् ।

यो फिल्मको प्रदर्शन मिति आउँदो वर्षलाई तोकिएको छ । करिब दुई हप्ता अघि फिल्मको नाम र मोसन पोस्टर सार्वजनिक गरेको निर्माण टिमले फिल्मलाई विं.सं.२०८२ सालभित्र विश्व बजारमा प्रदर्शन गर्ने लक्ष्य राखेको छ ।

फिल्ममा विनोद पौडेल र प्याट्रिक सुवेदीको लगानी रहनेछ । रमेश चौलागाईं र हरि श्रेष्ठ फिल्मका कार्यकारी निर्माता हुन् । महेश दवाडीको पटकथा तथा संवाद रहन फिल्ममा प्रशान्त सिवाकोटीको संगीत रहने छ ।

प्रतिक्रिया दिनुहोस्