‘फर्की फर्की’ समृद्धिकालागि रोचक यात्रा



 

रंगखबर, काठमाडौँ: समृद्धि अर्याल हङकङमा जन्मिइन्, भारतमा पढिन् । भारतमा अभिनयको अध्ययन गरेकी उनी यही जेठ १० गतेबाट रिलिज हुने फिल्म ‘फर्की फर्की’बाट नेपाली फिल्ममा डेब्यू गर्दैछिन् । हङकङमा रहँदा उनको परिवारले अभिनेता अनमोल केसीको कुरा गर्थे । अहिले समृद्धि अनमोल अभिनित फिल्म ‘फर्की फर्की’बाट नै नेपाली फिल्ममा पाइला चाल्दैछिन् ।

‘फिल्ममा म जसिता गुरुङको साथीको भूमिकामा देखिँदैछु । आफ्नो साथीको लागि जे पनि गर्न सक्ने किसिमको क्यारेक्टर छ । साथीको राम्रो होस् भनेर चिताउने क्यारेक्टर छ’, उनी भन्छिन्, ‘म रियल लाइफमा धेरै बोल्दिनँ । तर फिल्ममा अलिक फरक देखिएकी छु ।’

फिल्मको सुटिङमा उनको पहिलो सट अभिनेत्री जसितासँग रहेछ । ‘मेरो पहिलो सट नै जसितासँग थियो । केही नर्भस पनि थिएँ । तर आफूलाई सम्हाल्नुपर्छ भन्ने लागेपछि म सम्हालिएँ’, उनले भनिन् ।

समृद्धिका लागि ‘फर्की फर्की’ यात्रा रोचक छ । एकदिन उनी र उनकी आमा लाजिम्पाटमा थिए । सोहीबेला निर्माता अर्जुन कुमारले उनलाई निर्माता रोहित अधिकारीले एउटा क्यारेक्टरका लागि अडिसन मागिरहेको बताएपछि समृद्धिलाई ‘तिमी गर्छौ ?’ भनेर सोधेका थिए । ‘मलाई कस्तो फिल्म, कसको फिल्म भन्ने थियो । अर्जुन अंकलको भनाई अनुसार रोहित दाईलाई भेटेपछि उहाँले ‘टाइम ट्राभलको मुभी हो । क्यारेक्टर सेकेण्ड लिड छ’ भन्नुभयो । म जसिताको साथी भनेपछि यति ठूलो मौका हत्तपत्त कसैले पाउँदैन । मैले गरेको राम्रो हुन्छ भनेर अडिसन दिएँ अनि छानिएँ’, उनले भनिन् ।

अभिनयप्रति समृद्धिलाई सानैदेखि रुची थियो । उनले मोडलिङ हल्काफूल्का सिके पनि कलाकार हुन्छु भन्ने उनलाई लागेको थिएन । तर बुवाले मुम्बईमा अभिनयको इन्स्टिीच्यूट खोजेर उनलाई भर्ना गरिदिए । त्यहाँ उनले तीन वर्ष अभिनय कक्षा लिइन्

‘तीन वर्षको अध्ययन पछि कसरी अगाडि बढ्ने, कसरी काम गर्ने भन्ने कुरा बुझ्ने मौका पाएँ । क्यामराको अगाडि कसरी अभिनय गर्ने भनेर बढी सिकें । क्यामरासँगै थिएटर अभिनय पनि सिकाउँथे । कलेजमा मैले ६ वटा छोटा फिल्ममा काम गरेको थिएँ । त्यसपछि विस्तारै आत्मविश्वास बढ्यो’, उनले भनिन् ।

समृद्धि आफ्नो कामबाट खुशी छिन् । नाम चलेका कलाकारसँग ठूलो ब्यानरमा अभिनय गर्न पाउँदा उनी आफूलाई भाग्यमानी ठान्छिन् । निर्देशक सुयोग गुरुङ, निर्माता रोहित अधिकारी र फिल्मका कलाकारको काम गर्ने शैलीबाट उनी प्रभावित रहिछन् ।

रोहित अधिकारीको निर्माण र सुयोग गुरुङको लेखन तथा निर्देशन रहेको फिल्म ‘फर्की फर्की’मा अनमोल केसी, जसिता गुरुङ, निर्मल शर्मा, लोकेन्द्र लेखक, सलोन बस्नेत, रवि काफ्ले र समृद्धि अर्याललगायतको अभिनय छ ।

प्रतिक्रिया दिनुहोस्