पूजाको दमदार एक्सन सहित ‘दान्भी’को ट्रेलर रिलिज



रंगखबर, काठमाडौँ: आगामी असार ७ गतेबाट रिलिज हुने फिल्म ‘दान्भी’को ट्रेलर सार्वजनिक भएको छ । राजधानीमा बिहीबार एक कार्यक्रमबीच २ मिनेट ४० सेकेण्डको ट्रेलर सार्वजनिक गरिएको छ ।

ट्रेलरमा फिल्मकी प्रमुख नायिका पूजा शर्माको दमदार एक्सनलाई स्थान दिइएको छ । फिल्मका नवनायक कुन्साङ बोमजोमसँग पुजाको प्रेमलाई पनि ट्रेलरमा देख्न सकिन्छ । ट्रेलर हेर्दा कुन्साङको हत्या पछि उनको हत्याको बदला लिन पुजालाई एक्सन रुपमा प्रस्तुत गरिएको बुझ्न सकिन्छ । ट्रेलरमा पुजालाई ‘लेडी टाइगर’का रुपमा चित्रण गरिएको छ ।

कार्यक्रममा नायिका पुजाले फिल्मको टिजर र एक्सन सिक्वेन्सको तस्वीर सार्वजनिक भएपछि सञ्चारमाध्यममा आफूलाई ट्रोल बनाइएकोमा गुनासो गरिन् । ‘मेरो एक्सनलाई देखावटी भनेर समाचार पनि आयो । तर मैले फिल्मका लागि कतिसम्म एक्सन दृश्य दिएको छु भन्ने कुरा दर्शकले फिल्म हेरेपछि थाहा पाउनुहुनेछ’, उनले भनिन् ।

पुजाले आफूले ट्रेलर हेरिरहँदा ती दृश्य कसरी गरें भन्ने आफूलाई लागेको बताइन् । ‘अब म अरुको आलोचना सुन्नु भन्दा कामले नै जितेर देखाउँछु भन्ने अठोटमा छु । हिरोइनले पनि एक्सन सिक्वेन्स गर्न सक्छन् भन्ने दान्भीमा देखाएको छु’, उनले भनिन् ।

नवनायक कुन्साङले दर्शकले ‘दान्भी’मा नयाँ एक्सन जनरा पाउने बताए । अर्का नायक किरण श्रेष्ठले एक्सन जनरा मनपर्ने दर्शकका लागि ‘दान्भी’ उपर्युक्त फिल्म भएको दाबी गरे ।

फिल्मका द्वन्द्व निर्देशक श्री श्रेष्ठले पुजाको टाइमिङ र उनको मेहनतले ‘दान्भी’मा एक्सन गर्न सजिलो भएको बताए । निर्देशक रुपेश तामाङले फिल्म राम्रो बनेकोमा आफू ढुक्क रहेको बताए ।

नेपाल र भारतका विभिन्न स्थानमा खिचिएको फिल्ममा विशाल पहाडी, राजाराम पौडेललगायतका कलाकारको अभिनय छ ।

फिल्ममा पवन राना मगर कार्यकारी निर्माता र देव मगर तथा अनुप गडाल निर्माता छन् । फिल्ममा कमला लिम्बु, पन्चबहादुर तामाङ र आदर्श पौडेल सह–निर्माता छन् ।

फिल्ममा सन्जोग कुँवर रानाको पटकथा तथा संवाद, रविना थापा मगरको कथा, हरिप्रसाद घलेको डीओपी, बन्दे प्रसादको सम्पादन, श्री श्रेष्ठको एक्सन, कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी छ ।

प्रतिक्रिया दिनुहोस्