रंगखबर, काठमाडौँ: फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’को फेम्ड निर्देशक सरोज पौडेलको आगामी निर्देशनमा बन्न लागेको फिल्म ‘कोशेढुंगा’को लिड आर्टिस्ट लाइन अप पुरा भएको छ। अब भने पौडेलले निर्देशन गर्ने फिल्ममा सुरक्षा पन्त, आर्यन सिक्देल, नीति शाह र प्रवीण खतिवडालाई लिडमा लिदै निर्माण टिमले फिल्मको लिड आर्टिस्ट लाइन अप पुरा भएको जानकारी दिएको छ।
सोसल ड्रामा ‘कोशेढुंगा’ बन्ने फिल्मले अभाव, अग्लो सपना र संघर्षको कथा भन्ने संकेत यस अघि रिलिज भएको थिम पोस्टरले प्रस्ट्याएको छ। “फिल्म कस्तो हुने, कथा के हो, कलाकार को–को हुने त्यो हामी केही समयपछि जानकारी गराउनेछौँ,” निर्देशक पौडेलले भने, “तर हामी यति भन्छौँ, पूर्ण बहादुरको सारङ्गी जसरी दर्शकले मन पराउनुभयो त्यसैगरी मन जित्ने सिनेमा बनाउने प्रयासमा छौँ ।”
फागुन २ गतेदेखि छायांकन हुने फिल्मलाई २०८२ मा रिलिज गर्ने निर्माण पक्षले जानकारी दिएको छ । नरदेवी फिल्मसको प्रस्तुति रहेको फिल्ममा प्रेविल कँडेल र हरि महतको लगानी रहनेछ भने दिनेश खड्का कार्यकारी निर्माता रहेका छन् ।
बाबु श्रेष्ठको डीओपी रहने फिल्म सुरेन्द्र पौडेलले सम्पादन गर्नेछन् । फिल्ममा संगीत रिदम कँडेल र आषिश अविरलको रहनेछ । कास्टिङ डिरेक्टर सुवलमणि सापकोटा रहनेछन् । ‘पूर्ण बहादुरको सारङ्गी’का निर्देशकले निर्देशन गर्ने भएकाले ‘कोशेढुंगा’ फिल्म प्रतिक्षित हुनेछ । फिल्मको छायांकन अगावै अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार बिक्री भएको छ। अन्तर्राष्ट्रिय वितरण ‘सेभेन सिज इन्टरनेसनल’ कम्पनीले खरिद गरेको छ ।