रंगखबर, काठमाडौँ: डा. विलोल पोखरेलको कवितासंग्रह ‘विलोल शब्द वल्लरी’ लोकार्पण भएको छ। बुधबार काठमाडौंमा एक विशेष कार्यक्रम गर्दै डा. पोखरेलले आफ्नो कवितासंग्रह लोकार्पण साथै तीन गीतका भिडियोपनि सार्वजनिक गर्नुभएको हो। कार्यक्रममा डा. पोखरेलका शब्द रचना रहेका ‘शहीदको रगतले होली खेल्न दिन्न’, ‘यो देशको माटोले तिमीलाई बोलाई राखेको छ’ दुई राष्ट्रिय भावका गीत र एक आधुनिक गीत ‘चिरा चिरा भो मुटु’को भिडियो प्रदर्शन गरिएको थियो ।
स्रष्टा विलोलकी माताश्री धरणी पोखरेलको प्रमुख आतिथ्यतामा भएको समारोहमा बरिष्ठ कलाकार कृष्ण मल्ल, नेपाल चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौला, बरिष्ठ कलाकार लय संग्रौला, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)का पूर्व अध्यक्ष राधेश्याम लेकाली, गीतकार संघका अध्यक्ष वसन्त वित्यासी थापा, स्रष्टा पोखरेल र मिलापका सम्पादक कृष्ण भुसालले उक्त कृतिको लोकार्पण गर्नुभएको थियो ।
कार्यक्रममा आफ्ना भनाइ राख्दै स्रष्टा विलोलले विदेशमा वस्ता पनि देशमा रहेपनि मन सधै स्वदेशमै रहने गरेको बताउँदै गीत, संगीत, गायन, अभिनयमा आफ्नो रुची रहेकोले सिर्जना आइरहेको बताउनुभयो । लेख्दा लेख्दै थुप्रै कविता लेखेको सुनाउँदै ति सबैलाई क्रमशः पाठकमाझ ल्याउने उद्देश्यले ‘विलोल शब्द वल्लरी’ भाग-१ सार्वजनिक गरिएको जानकारी दिनुभयो । अन्य कृतिपनि क्रमशः आउँदै जाने उहाँले प्रतिवद्धता व्यक्त गर्नुभयो । भावहरू, अनुभवहरू, कथाहरू आफ्नै भाषामा व्यक्त गर्ने चेष्टा गरेको सुनाउनुभयो । ‘यो भान्सले मीठा व्यन्जन पस्कन सकेन होला । तर, पनि मिठो मानेर अलिकति भुटेको करेलो मैले पस्के, घ्यू, चास्नी, कुराउनी, सखर थपेर मिठो बनाउने जिम्मा यहाँहरूको’, उहाँले भन्नुभयो ।
कार्यक्रममा डा. विलोलका गीतका भिडियोमा संलग्नका साथै अतिथिलाई मायाको चिनो प्रदान गरिएको थियो । कार्यक्रममा साहित्य, गीत, संगीतका साथै विभिन्न क्षेत्रका विशिष्ठ व्यक्तित्वहरूको बाक्लो उपस्थिति रहेको थियो । कविता संग्रह ‘विलोल शब्द वल्लरी’मा ९२ कविता संग्रहीत छन् । १४८ पेजको यो कृतिलाई जेनीश इन्टरटेन्मेन्ट मिडिया प्रा.लि.ले प्रकाशन गरेको हो ।