रंगखबर, काठमाडौँ: फिल्म ‘कोशेढुंगा’को शुभमुहूर्त गरिएको छ । हिस्टोरिकल ब्लकबस्टर फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ फेम्ड निर्देशक सरोज पौडेलले निर्देशन गर्ने फिल्मको आज शुभमुहूर्त गरिएको हो ।
निर्देशक, निर्माता, कलाकार र प्राविधिकको उपस्थितिमा मुहूर्त गरिएको हो । च्यासलस्थित सेटमा मुहूर्त सटसँगै फिल्मको छायांकन आजैबाट सुरु भएको निर्देशक पौडेलले जानकारी दिए ।
करिब एकहप्ता काठमाडौंमा छायांकन गरेपछि निर्माण युनिट बाँकी सिनेमाको सुटिङका लागि स्याङ्जा जानेछ ।
फिल्ममा सुरक्षा पन्त, आर्यन सिक्देल, सरोज खनाल, विशाल पहाडी, शेखर चापागाईं, सिरु विष्ट, उद्वव सापकोटा, सन्ध्या राना, सविता रेग्मी, सविन कट्टेल, विकास खनाललगायत छन् ।
फिल्ममा लिड रोलमा सुरक्षा पन्त रहने छिन् । महिलाप्रधान चलचित्र रहेको बताइएको छ ।
नरदेवी फिल्मसको प्रस्तुति रहेको फिल्ममा प्रेविल कँडेल र किशोर अनुरागको निर्माताको रुपमा रहनेछन् । फिल्मका कार्यकारी निर्मातामा दिनेश खड्का रहनेछन् ।
बाबु श्रेष्ठको डीओपी रहने फिल्म सुरेन्द्र पौडेलले सम्पादन गर्नेछन् । फिल्ममा संगीत रिदम कँडेल र आषिश अविरलको रहनेछ । कास्टिङ डिरेक्टर सुवलमणि सापकोटा रहनेछन् ।
‘पूर्ण बहादुरको सारङ्गी’का निर्देशकले निर्देशन गर्ने भएकाले ‘कोशेढुंगा’ प्रतिक्षित हुनेछ । सरोजले निर्देशन गरेको ‘पूर्ण बहादुरको सारङ्गी’ले नेपालमा मात्रै करिब ५० करोड ग्रसकलेक्सन गरेको थियो । त्यसैले उनले निर्देशन गरेको यो फिल्म कस्तो हुनेछ भन्ने धेरैका लागि प्रतिक्षाको विषय बनेको छ ।
निर्माण पक्षका अनुसार फिल्म २०८२ मा रिलिज हुनेछ ।