रंगखबर, काठमाडौँ: पोस्टर तथा ट्रेलर रिलिज देखिनै चर्चामा रहेको फिल्म ‘कर्मा’को पहिलो गीत सार्वजनिक गरिएको छ। फिल्मको अभिनेत्री उपासना सिंह ठकुरी र विपिन कार्कीलाई फिचर्ड गरेर ‘सारी लगाइदेउ’ बोलको गीत रिलिज गरिएको हो।
रत्यौली तथा नेपाली टिपिकल शब्दहरुलाई संगालेर बनाइएको गीतमा सलिना बिकको आवाज रहेको छ। सुष्मा सिग्देलको शब्दरचना रहेको गीतमा संगीत भाष्कर स्वारको छ । भाष्कर स्वार र सुवास पौडेलले एरेन्ज गरेको भिडियो मिक्सिङ तथा मास्टरिङ शास्वत श्रेष्ठले गरेका छन् ।
कविराज गहतराजले कोरियोग्राफी गरेको गीतमा अभिनेता कार्कीलाई महिलाको पहिरन र मेकअपमा देख्न सकिन्छ।
नयाँ वर्ष २०८२ को छेको पारेर चैत २९ गते रिलिज हुने फिल्म नेपाल र विदेशमा एकसाथ प्रदर्शन हुनेछ ।
सौरब चौधरीले निर्देशन गरेको ‘कर्मा’ ड्रामा, सस्पेन्स र एक्सन जनरामा निर्माण भएको हो। फिल्मको कथा निर्देशक चौधरी स्वयंले लेखेका छन् ।
फिल्ममा विपिन र उपासनाका साथै मुकुन भुसाल, सरिता गिरी, दिब्यदेब, बेन बस्नेत, सुज्यान सिलवाल, अनिल बुढाथोकी, निर्मल शर्मालागायतको अभिनय रहेको छ ।
‘कर्मा’को अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार बिक्रीको अधिकार सेभेन सिज सिनेमाले लिएको छ ।