रंगखबर, काठमाडौँ: अभिनेता सौगात मल्ल र अभिनेत्री शृष्टि श्रेष्ठको मुख्य भूमिका रहेको फिल्म ‘भाइरल गोर्खे’को टिजर रिलिज गरिएको छ। जेठको ३० गतेबाट रिलिज हुने फिल्मको प्रचार स्वरुप निर्माण टिमले टिजर दर्शकमाझ ल्याएका हुन्।
२ मिनेट ८ सेकेन्ड लामो फिल्मको टिजरमा ‘पाँडे गाउँ’ नामक एक गाउँको युवाको कथालाई देख्न सकिन्छ। जसले भाइरल हुन गरेको मेहनत र त्यसले उसको जीवनमा कस्तो असर पार्छ भन्ने देखाउन खोजिएको छ।
फिल्मलाई ‘छड्के’ र ‘छड्के २’ र ‘लालपूर्जा’ निर्देशन गरिसकेका निर्देशक निगम श्रेष्ठले निर्देशन गरेका हुन्।
द जिएमआई एकेडेमी र निर्भाना फिल्म स्कुलको व्यानरमा निर्माण भएको फिल्ममा विशाल ताम्राकार, महेश लामिछाने र केवलजंग कुँवरको लगानी रहेको छ भने सह-निर्मातामा भुवन अधिकारी र निखिल पौडेल छन् ।
फिल्ममा बुद्धि तामाङ, सृष्टि श्रेष्ठ, राजाराम पौडेल, संचारकर्मी ऋषि धमला लगायतको अभिनय रहेको छ।