रंगखबर, काठमाडौँ: फिल्म ‘अभिमन्यु’का लागि कलाकार छनोट सुरु भएको छ । निर्माणपक्षले फिल्मका कलाकारको नाम सार्वजनिक गर्न सुरु गरेको छ ।
‘अभिमन्यु’मा पहिलो कलाकारका रूपमा गौमाया गुरुङ अनुबन्ध भएकी छन् । निर्माणपक्षले गुरुङ आफ्नो फिल्ममा अनुबन्ध भएको जानकारी दिएको छ ।
“हाम्रो फिल्मका लागि हामीले कलाकार छनोट गर्न सुरु गरेका छौँ । पहिलो कलाकारका रूपमा गौमायाजीलाई साइन गराएका छौँ,” निर्माता विनोद पौडेलले भने, “अन्य कलाकार पनि अब अनुबन्ध गर्दै जानेछौँ ।”
उनले फिल्मको पात्रअनुसार बलियो लाइनअप बनाउँदै जाने बताए ।
सर्वकालीन ब्लकबस्टर सिनेमा ‘पूर्ण बहादुरको सारङ्गी’ निर्माता पौडेलले ‘अभिमन्यु’ निर्माण गर्न लागेका हुन् । उनले सिनेमाको प्रदर्शन मिति पनि घोषणा गरिसकेका छन् । ‘अभिमन्यु’ आगामी भदौ २७ गते रिलिज हुनेछ ।
फिल्मको थिम पोस्टरले चक्रव्यूह र पैसाबीचको संघर्षलाई प्रस्तुत गर्नेछ । पैसाको प्रलोभनमा चक्रव्यूहमा फस्ने र त्यहाँबाट उम्किन खोज्ने पात्रले गर्ने संघर्षको कथा सिनेमाले भन्नेछ ।
यो फिल्म विश्वभर एक साथ हिन्दी र नेपाली भाषामा रिलिज हुनेछ ।
सेभेन सिज सिनेमाको प्रस्तुति निर्माण हुने फिल्म ‘अभिमन्यु’लाई सुशान्त गौतमले निर्देशन गर्नेछन् । यो उनको डेव्यु निर्देशकीय फिल्म हो ।
मुकेश खनालको लेखन रहेको फिल्मको क्रियटिभ निर्देशक मदन थापा हुन् । थापाले यसअघि चलचित्र ‘बाटो : रोड टु डेथ’ निर्देशन गरेका थिए ।
फिल्ममा शरद महतोको डिओपी रहने छ ।
विनोद पौडेल र गुञ्जन गिरी निर्माता रहेको फिल्मका रमेश चौलागाई र हरि श्रेष्ठ सह–निर्माता रहेका छन् ।