‘ए मेरो हजुर ४’ टिजरमा ब्याकग्राउण्ड म्युजिक चोरीको आरोप



रंगखबर, काठमाडौँ – अनमोल केसी र सुहाना थापा अभिनित फिल्म ‘ए मेरो हजुर ४’लाई चोरीको आरोप लागेको छ । केहि दिन अगाडी सार्वजनिक फिल्मको टिजरमा ब्याकग्राउण्ड म्युजिक चोरीको आरोप लागेको हो ।

तीन दिन अगाडी रिलिज भएको टिजर यतिबेला नेपाल युट्युब ट्रेन्डिङको पाँचौं स्थानमा उक्लिएको छ । ५ लाख नजिक भ्युज पाइसकेको टिजरमा १७ सय बढी प्रतिक्रिया आएका छन् । जसमध्ये केहि कमेन्ट ब्याकग्राउण्ड म्युजिकलाई लिएर छन् ।

टिजरको सुरुवातमा फोक्सुण्डो ताल वरिपरिको दृश्यमा आउने म्युजिक बलिउड फिल्म ‘ब्ल्याक’सँग मिल्न पुगेको छ ।

श्लोक मानन्धर नामका एक युट्युब प्रयोगकर्ता लेख्छन, ‘अनि पायो भन्दैमा २००५ को ब्ल्याकबाट म्युजिक हाल्दिने ।’ अर्का प्रयोगकर्ता लेख्छन, ‘ब्याकग्राउण्ड म्युजिक हिन्दि फिल्म ‘ब्ल्याक’को म्युजिकसँग मिल्छ, कपिक्याट ।’

युट्युबमा धेरै दर्शकले यसको ब्याकग्राउण्ड म्युजिक ‘ब्ल्याक’सँग मिल्न गएको प्रतिक्रिया जनाएका छन् ।
अर्का एक प्रयोगकर्ता लेख्छन, ‘म्युजिक त पुरै हिन्दि ब्ल्याक मुभीबाट इन्स्पायर जस्तो छ ।’

यस्तै अधिकाँस दर्शकले भने टिजर मन परेको प्रतिक्रिया दिएका छन् । अनमोल र सुहानाको केमेस्ट्री जमेको प्रतिक्रिया पनि थुप्रै छन् । कतिले भने घिसिपिटी कहानीको झल्को दिने टिजर भनेका छन् ।

झरना थापाले निर्देशन गरेको फिल्ममा झरनासँगै छेतेन गुरुङ, मन्दिप गौतम, बाबुराम दाहाल, प्रतिक पौडेल, उपकार पाण्डे र माधव शर्माको पटकथा र संवाद छ ।

बैशाख १ गते रिलिज हुने फिल्ममा बसन्त सापकोटा, आशिष अविरल, कल्याण सिंह, प्रतिक पौडेल, उदयराज पौडेललगायतको संगीत छ ।

संजय लामाले खिचेको फिल्ममा हिमाल केसीको एक्सन र मित्र डी गुरुङको सम्पादन छ ।

प्रतिक्रिया दिनुहोस्