सिनेमाको निर्माण टिमले मंगलबार २ पोस्टर सार्वजनिक गर्दै आगामी कार्तिक ६ गते भाइटीकालाई प्रदर्शन मिति घोषणा गरिएको छ । कवि उपेन्द्र सुब्बाको लेखन तथा निर्देशनमा निर्माण भएको सिनेमाको आज सार्वजनिक भएका दुई पोस्टरमध्ये पहिलो पोस्टरमा सिनेमाका मुख्य कलाकार दयाहाङ राई र मिरुना मगरलाई मात्र प्रस्तुत गरिएको छ । यी दुवैलाई पोस्टरमा परम्परागत लिम्बु पहिरनमा खुशी मुद्रामा देख्न सकिन्छ ।
दोस्रो पोस्टरमा दयाहाङ र मिरुनासहित बुद्धि तामाङ तथा विजय बराललाई अटाइएको छ । सार्वजनिक भएका यी दुवै पोस्टरले लिम्बु समुदाय र उनीहरूको संस्कृतिको अभिन्न पाटोको सेरोफेरोमा सिनेमाले कथा पस्कने बुझ्न सकिन्छ । सिनेमाका यी पोस्टरले एउटा अद्भुत कथा पर्दामा पस्किने सहज अनुमान गर्न सकिन्छ ।
कवि सुब्बाको डेव्यु निर्देशकिय सिनेमा ‘जारी’ २०८० सालको ब्लकबस्टर सिनेमा हो । सो वर्ष सिनेमाले नेपाली बक्स अफिसमा १७ करोड माथिको व्यापार गरेको थियो । त्यसैले निर्माण घोषणा भएदेखि नै यो सिनेमालाई प्रतिक्षित सिनेमाको सूचीमा राखिएको छ ।



