‘गौँथली’ले बनायो दर्शकलाई उत्साहित



चलचित्र ‘गौँथली’ साउन १ गतेबाट रिलिज हुँदा यो सिनेमामा योङ एन्ड इनरजेटिक जोडी दर्शकमाझ प्रस्तुत हुनेछ । निर्देशक कपिल रिजालले यो चलचित्रमा अरुण क्षेत्री र सिम्रन खड्कालाई अनस्क्रिन जोडी बाँधिदिएका छन् ।

अरुण र सिम्रन श्रीमान् र श्रीमतीको भूमिकामा छन् । यी दुवै कलाकार दर्शकको मनमा बसिसकेका कलाकार हुन् । ‘महापुरुष’लगायत चलचित्रबाट अरुणले दर्शकको मन जितेका थिए । सिम्रनले ‘प्रेमगन्ज’, ‘चित्रा’ र ‘बेहुली फ्रम मेघौली’ लगायत चलचित्रबाट आफूलाई अब्बल दर्जाको कलाकारका रुपमा प्रमाणित गरेकी थिइन् ।

अब यी कलाकार आफ्ना दर्शकमाझ ‘गौँथली’मार्फत आउँदैछन् । केही दिनअगाडि यो सिनेमाको स्याड सङ् ‘आँखा भरी आँसु’ सार्वजनिक भएको थियो । थानेश्वर गौतम र शान्तिश्री परियारको स्वर रहेको गीतमा संगीत पनि थानेश्वर स्वयंको थियो । गीतमा शब्दरचना डा. भोला रिजालको थियो । उक्त गीत दर्शकले रुचाइहेका छन् ।

यो गीत सार्वजनिक विशेष तरिकाले भएको थियो । गीत सार्वजनिक कार्यक्रममा अरुण र सिम्रन बेहुला र बेहुलीको भेषमा कार्यक्रमस्थलमा पुगेका थिए । जुन कार्यक्रमका निम्तालु र पत्रकारका लागि सरप्राइज बनेको थियो ।

गीत अगाडि यो सिनेमाको टिजर सार्वजनिक भएको थियो । टिजर देखिएको सिनेमाको विषय, अभिनय र प्रस्तुतिलाई नै दर्शकले मन पराएका छन् ।

“हाम्रो गीत र टिजरलाई दर्शकले रुचाइदिनु भएको छ । एकदमै राम्रो प्रतिक्रिया आइरहेको छ,” निर्देशक रिजालले भने, “विषयवस्तु र अभिनयको तारिफ गर्नु भएको छ । शारीरिक समस्याले निम्त्याएको असर त्यसले मानिसको जीवनमा पर्ने प्रभावलाई रुचाइदिनु भएको छ ।”

यो चलचित्रमा अरुण र सिम्रनले पहिलोपटक अनस्क्रिन जोडी बाँधेका छन् । यो जोडीलाई दर्शकले कसरी लिएलान् भन्ने कौतुहलता छ ।

चलचित्रमा ‘गौँथली’को प्रतीकात्मक अर्थ घर, परिवार र आपसी सामीप्यता रहेको निर्माण पक्षले जनाएको छ ।

डा. कपिल रिजालले निर्देशन गरेको चलचित्र ‘गौँथली’मा अरुण क्षेत्री र सिम्रन खड्का मुख्य भूमिकामा छन् ।

बलियो लाइनअप रहेको यो चलचित्रमा मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रविन्द्र झा, ईश्वरी बराल, सन्जोग रसाइली, सीतादेवी तिमिल्सिना, लक्ष्मीनाथ तिमिल्सिना र राजेन्द्र नेपालीको अभिनय रहेको छ । बाल कलाकारका रूपमा अंशु ओली र प्रिन्स नेपालीले अभिनय गरेका छन् ।

डा. भोला रिजालको कथा रहेको चलचित्रको पटकथा तथा संवाद लेखनमा निर्देशक डा. कपिलसँगै निश्चल कुँवर, निरज नेपाल र गिरिराज घिमिरेले सहकार्य गरेका छन् ।

भोला रिजाल प्रोडक्सन र सुमन गिरी प्रोडक्सनको प्रस्तुतिमा बनेको यस चलचित्रको कार्यकारी निर्माता सरला रिजाल छिन् । निर्माताको रूपमा सुमन गिरी र डा. कपिल रिजाल छन् भने इन्दु गिरी, मनिष रिजाल, प्रलय रिजाल र जीवन ओली सह–निर्माताको रूपमा रहेका छन् ।

शम्भुजीत बासकोटा, थानेश्वर गौतम र प्रशान्त सिवाकोटीको संगीत रहेको यस चलचित्रमा पाश्र्व संगीत एलिस कार्कीको छ ।

चलचित्रलाई हरि हुमागाईंले खिचेका हुन् भने मिलन श्रेष्ठले सम्पादन गरेका छन् ।

गिरिराज घिमिरे मुख्य सहायक निर्देशक रहेको यस चलचित्रमा आर्यन अधिकारी र बुद्धि नेपाली सहायक निर्देशक, मुकेश शाहको ध्वनि मिश्रण, राजेन्द्र मोक्तानको रङ संयोजन, रामजी लामिछाने र मौसम हिमालीको कोरियोग्राफी रहेको छ ।

यो चलचित्रलाई रिच इन्टरटेनमेन्ट, एप्पल इन्टरटेनमेन्ट, र एफ.डी. कम्पनीले वितरण गर्ने छन् । डिजिटल पार्टनर ‘ओएसआर डिजिटल’ रहेको छ ।

‘गौँथली’ नाममा डा. भोला रिजालले दुई दशकअघि चलचित्र निर्माण गरेका थिए । उक्त चलचित्रलाई नेपालको पहिलो ‘गीति फिल्म’ (म्युजिकल फिल्म) मानिन्छ । ‘गौथली’ले प्रदर्शनको ५१औँ दिन मनाएको थियो ।

अहिले सोही नाममा डा. भोला रिजालका छोरा तथा निर्देशक डा. कपिल रिजालले नयाँ चलचित्र ‘गौँथली’ निर्देशन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्