“धेरै राम्रो सन्देश बोकेको लोक सँस्कारयुक्त गीत रहेछ । जसले १० मा ८ स्कोर पाउँछ मबाट । छुटाउँदा अन्याय भैजाने त ‘भुइँ नबिर्स’ नै हो, जसलाई १० मा ९.९९ घटाउँदैन,” यो प्रतिक्रिया चलचित्र ‘बा : एक योद्धा’का दुई गीत ‘नभन्नू कोइसित’ र ‘चढेको बुई नबिर्स, टेकेको भुइँ नबिर्स’लाई टेकेन कँडेलले युट्युबमा हेरेर दिएका हुन् ।
सिबी राना मगरलाई पनि ‘बा : एक योद्धा’का गीत ‘नभन्नू कोइसित’ मन परेको छ । उनी लेख्छन्, “धेरै पछि पञ्चेबाजाको नयाँ गीत आहा सागर आले र समीक्षा अधिकरीको स्वरमा आहा ।”
चलचित्र ‘बा : एक योद्धा’को गीत सुनेर र हेरेर आएका केही प्रतिक्रिया हुन् यी । यस्ता थुप्रै प्रतिक्रिया यो सिनेमाका गीतलाई प्राप्त भएको छ । यी प्रतिक्रियासँगै सिनेमाको निर्माण टिम निकै उत्साही बनेको छ । ‘बा : एक योद्धा’को टिमले प्रचार सुरु गरिसकेको छ ।
चलचित्र ‘बा : एक योद्धा’ टिमले केही दिन अघि लोकलयको गीत ‘नभन्नू कोइसित’ सार्वजनिक गरेको थियो । त्यसअघि सिनेमा शीर्ष गीत ‘चढेको बुई नबिर्स, टेकेको भुइँ नबिर्स’ सार्वजनिक गरिएको थियो । जसको धेरैले तारिफ गरिरहेका छन् ।
चलचित्र ‘बाः एक योद्धा’ भदौ १९ गते रिलिज हुँदैछ । नेपाली समाजमा परिवारमा सन्तानको भविष्यका लागि बुवाले गर्ने त्याग, संघर्ष र जीवनभर झेल्ने चुनौतीहरू ‘बा : एक योद्धा’को मुख्य कथा रहेको बताइएको छ ।
यो चलचित्रमा दिव्यदेव, झरना थापा, सुहाना थापा, माओत्से गुरुङ, अनिल बुढाथोकी, सागर खनाल, शिशिर सिवाकोटी, सुप्रज्ञा शर्मा र शवि थापा मुख्य भूमिकामा छन् ।
हरि लम्सालको लेखन तथा निर्देशन रहेको चलचित्र ‘बाः एक योद्धा’ कुशे औंसी अर्थात् बुबाको मुख हेर्ने दिनको पूर्वसन्ध्यामा प्रदर्शनमा आउन लागेको हो ।
नेपाली संगीत क्षेत्रमा दर्जनौँ कालजयी गीत दिएका संगीतकार हरि लम्साल रचनाकार र गायक पनि हुन् । फिचर सिनेमामा भने ‘बाः एक योद्धा’ उनको पहिलो निर्देशन हो । आर्टिस्टिक इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको यो चलचित्रको कथासँगै पटकथा पनि लम्साल आफैँले लेखेका छन् ।
चलचित्र ‘बाः एक योद्धा’का निर्माता वसन्त लम्साल हुन् । अनिल बुढाथोकी कार्यकारी निर्माता रहेको चलचित्रका लाइन प्रोड्युसर अर्जुन पौडेल हुने भने सह–निर्माता कृष्ण काफ्ले रहेका छन् ।
शिवराम श्रेष्ठको छायाकंन रहेको चलचित्रको मुख्य सहायक निर्देशकमा तारानाथ न्यौपाने छन् । ‘बा : एक योद्धा’ आशिष एच तामाङ र प्रदीप धामीको कुवेर सिने डिस्ट्रिब्युसनले वितरण गर्नेछ ।



