‘भिडियोटेप’ को छायांकन ३१ दिनमा सम्पन्न



एप्पल इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भइरहेको हरर फिल्म **‘भिडियोटेप’**को छायांकन ३१ दिनमा सम्पन्न भएको छ। फिल्मको अधिकांश दृश्य उपल्लो मुस्ताङमा खिचिएको हो भने काठमाडौंमा पनि तीन रात छायांकन गरिएको निर्माण टिमले जनाएको छ।

भदौको पहिलो साताबाट सुरु भएको छायांकन निर्धारित समयमै पूरा भएको हो। फिल्ममा उपासना सिंह ठकुरी र कुन्दन मान शाक्य मुख्य भूमिकामा छन्। उनीहरूसँगै अस्तित्व भट्टचन, कृशल श्रेष्ठ, रिसु राउत, जीवन अधिकारी, शेखर चापागाईं र सिद्धार्थ सिंहलगायत कलाकारले अभिनय गरेका छन्।

हरर जनरामा निर्माण भइरहेको फिल्मलाई ओविद उद्दिनले निर्देशन गरेका हुन्। निर्देशक उद्दिनले टिमको निरन्तर मेहनतका कारण छायांकन समयमै पूरा गर्न सम्भव भएको बताए।

‘भिडियोटेप’प्रति आफ्नो आकर्षणको कारणबारे निर्देशक उद्दिनले आफूलाई सुरुदेखि नै हरर फिल्म मनपर्ने भएकाले यही जनरामा काम गर्ने इच्छा भएको बताएका छन्। उनका अनुसार फिल्मलाई प्रभावकारी र फरक स्वाद दिने उद्देश्यले टिमले निकै मेहनत गरेको छ।

फिल्ममा वशिष्ट प्रधानले डीओपीको जिम्मेवारी सम्हालेका छन् भने ईश्वर घिमिरे प्रोडक्सन म्यानेजरका रूपमा छन्। त्यस्तै महेश बराल मुख्य सहायक निर्देशकमा रहेका छन्।

छायांकन सकिएसँगै फिल्म अब पोस्ट प्रोडक्सनको चरणमा प्रवेश गर्नेछ। निर्माण टिमले फिल्मको प्रदर्शन मिति भने अहिलेसम्म सार्वजनिक गरेको छैन।

प्रतिक्रिया दिनुहोस्