‘आमा’प्रति दर्शकको भरोसा, दोहरिएला त ‘पशुपति प्रसाद’को जस्तो सफलता ?



रंगखबर, काठमाडौँ – गएको ७ महिनामा जम्मा ४ फिल्म मात्र बक्सअफिसमा सफल भए । पहिलो ६ महिनाको अवधिमा ‘दाल भात तरकारी’, ‘जात्रै जात्रा’, ‘कबड्डी कबड्डी कबड्डी’ र ‘छ माया छपक्कै’ हिट हुँदा २०७६ राम्रै जाने संकेत देखिएको थियो ।

तर, दशैँ पछाडीको बक्सअफिस तथ्यांक उदेक लाग्दो छ । करिब डेढ महिनाको अवधिमा १३ फिल्म रिलिज भैसके । तर, बक्सअफिसमा कुनै पनि दिन सुखद देखिएको छैन । आशा गरिएका ‘घामड शेरे’, ‘पोइ पर्यो काले’, ‘च च हुई’ र ‘माछा माछा’ जस्ता फिल्मले राम्रो व्यापार नगरेपछि निर्माता रिलिजको लागि डराइरहेका छन् ।

यस्तैमा दीपेन्द्र के खनाल निर्देशक ‘आमा’ले आशा बढाएको छ । ट्रेलर रिलिज पछाडी फिल्मको हाइप चुलिएको छ । ट्रेलरलाई युट्युबमा दर्शकले राम्रो भनेका छन् । नेपालमा नारीप्रधान फिल्मको बक्सअफिस रेकर्ड सुखद छैन । तर, पनि ट्रेलरमा दर्शकले देखाएको विश्वासलाई लिएर केहि आशा गर्न सकिन्छ ।

झन्डै सातादेखि ट्रेन्डिङमा रहेको ट्रेलरलाई ७ लाख २७ हजार बढी पटक हेरिएको छ । कमेन्ट बक्समा दर्शकले सकारात्मक कमेन्टको वर्षा गरेका छन् । झन्डै ९९ प्रतिशत लाइक पाएको ट्रेलरलाई हेरेर फिल्मको बक्सअफिस सुखद रहने अनुमान गर्न सकिन्छ ।

यसअघि खनाल निर्देशित ‘पशुपति प्रसाद’ले दर्शकलाई हलसम्म डोर्याउन सफल भएको थियो । उसको ट्रेलरलाई पनि दर्शकले रुचाएका थिए । यसपटक खनाललाई ‘पशुपति प्रसाद’को जस्तो सफलता दोहर्याउने अवसर छ ।

अब फिल्म कस्तो बनेको छ, त्यो हेर्न बाँकी छ । यदि समिक्षकबाट राम्रो प्रतिक्रिया पाउन सफल भएको खण्डमा ‘आमा’ले आफुलाई बक्सअफिसमा सुरक्षित गर्न सक्नेछ ।

फिल्ममा मिथिला शर्माले शिर्ष भूमिका निर्वाह गरेकी छन् । भने, सुरक्षा पन्त, देशभक्त खनाल, आशान्त शर्मा, मनिष निरौला, लक्ष्मी भुषाल, सरिता गिरीलगायतका कलाकारको अभिनय छ ।

शर्मिला पाण्डेले निर्माण गरेको फिल्म महाशिवरात्रीको अवसर पारेर फागुन ९ मा रिलिज हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्