सिपोरा गुरुङ भन्छिन्, ‘म त नचाहँदा–नचाहँदै फेमस भएँ’

मलाई सारी लगाएर फूलबारीमा नाच्ने फिल्म खेल्न मन लाग्दैन र खेल्दिनँ पनि । मलाई फिल्ममा बार डान्सर अर्थात् चम्किली, उत्ताउली रोल दिएको भए म गर्दिनँ र गर्न पनि सक्दिनँ ।

नेपाली खेलकुद क्षेत्रमा परिचित नाम हो– सिपोरा गुरुङ । उनी राष्ट्रियस्तरकी भलिबल खेलाडी हुन् । नेपालका तर्फबाट सबैभन्दा कम उमेरमा अन्तर्राष्ट्रिय खेलकुदमा भाग लिएर पदक जित्ने खेलाडीमा पर्छिन् उनी । श्रीलंकामा सम्पन्न दसौं साग खेलकुदमा उनले नेपालका लागि कास्यपदक जितेकी थिइन् । उनले गुरुङ समुदायको कथामा आधारित फिल्म ‘द घलेक : द साइन अफ लभ’ र ‘यम्फावती’ मा अभिनय गरेकी छन् । प्रर्दशनको तयारीमा रहेको फिल्म ‘भुईंमान्छे’की अभिनेत्री गुरुङसँग अनिल यादवले गरेको अन्तरंग कुराकानी :
तपाईं राष्ट्रिस्तरको भलिबल खेलाडी, यो अभिनयको दुनियाँमा कसरी आइपुग्नुभयो ?
पहिलोपल्ट फिल्म खेल्दा त म घाइते नै थिएँ । घाइते अवस्थामै मैले ‘द घलेक’ भन्ने फिल्म खेलेँ । खासमा मेरो सानैदेखि केही न केहीमा इंगेज भइरहनुपर्ने स्वभाव हो । रमाइलो गरौँ, टिभी हेरौँ भन्ने लागेन । बच्चैदेखि क्रिएटिभ काममा इंगेज भइरहनुपर्ने । ८–९ वर्षको उमेरदेखि त्यसरी नै लागेको मान्छे अचानक १८ वर्षको पुग्दा घाइते भएँ । समय खाली भयो । त्यहीबेला फिल्मको अफर आयो । गुरुङहरुको संस्कृतिमा आधारित रहेकाले कथावस्तु पनि मनपर्यो। इंगेज पनि भइने, कथा पनि राम्रो । त्यसैले खेल्ने निर्णय गरेकी हुँ । तर स्क्रिन टेस्ट गरेर पास भएपछि मात्र खेलेकी हुँ है !

घाइते भएकै कारण अभिनयमा आउनुभएको त होइन होला, रुचि भएर पनि हो कि !
फिल्मको अफर मलाई पहिलेदेखि आइरहेको थियो तर म पूरै गेममा फोकस भएकाले ‘लौ न त विचार गरौँ’ भन्ने पनि थिएन । सिधै नाइँ नै भनिन्थ्यो । घाइते भएका बेलामा चाहिँ दुई–तीनटा स्क्रिप्ट हात परेको थियो । जसमध्ये ‘घलेक’को कथा मनप¥यो अनि खेलेँँ । जहाँसम्म रुचिको कुरा छ, म बच्चैदेखि नाटकमा काम गर्थें, नाच्थेँगाउँथेँ । त्यसैले मलाई काम गर्न सहज भयो ।

तपाईं त खेलाडी हुनुहुन्थ्यो, फिल्मको अफरचाहिँ किन आउँथ्योजस्तो लाग्छ ?
त्यो त मलाई थाहा भएन ।

सायद ‘भलिबल सुन्दरी’ भएर होला !
त्यो एउटा कारण हुनसक्छ किनभने समाचारतिर हेडलाइन नै भलिबल सुन्दरी भनेर आइरहेको हुन्थ्यो तर यही मात्रै कारणले होइन होला । मैले जति फिल्म खेलेँ, त्यो सबैको क्यारेक्टर मजस्तै छ । फिल्ममा लिनुअघि निर्देशकले आफ्नो कलाकार यत्तिको अग्लो, यत्तिको स्माइल भएको, यत्तिको लजा’को, यतिको हट्टाकट्टा हुनुपर्यो भनेर पोट्रे त गरेको हुन्छ नि ! हो त्यही क्यारेक्टरका लागि म फिट हुने भएकाले पनि मलाई लिइएको हुनसक्छ ।

तपाईंको खास लक्ष्य त आर्मी बन्ने थियो है ?
हो । मैले ट्राइ पनि गरेको हुँ । खासमा मैले खेलाडी बन्छु भनेर खेल खेलेको पनि होइन । मेरो बुबा स्पोर्ट्स लभर हुनुहुन्थ्यो । छोरीले पढिरहनुपर्छ, खेल्नुहुँदैन भन्ने मानसिकता मेरोे परिवारमा थिएन । त्यसैले मलाई थाहा भएसम्म म जन्मेबाट नै मर्निङ वाक गर्थें । स्कुलमा हुने खेलसम्बन्धी प्रतियोगितामा पनि सधैँ टप हुन्थेँ । सानो उमेरमै अन्तर्राष्ट्रिय स्तरको खेल खेल्न जान्छु भन्ने त मैले एकरत्ति सोचकी थिइनँ । बरु मलाई सानैदेखि पत्रपत्रिकामा मान्छेको फोटो आउँदा ‘यो कसरी आउँछ होला’ भन्नेचाहिँ लाग्थ्यो । एकदिन मेरो पनि पत्रपत्रिकामा फोटो आओस् भन्ने लाग्थ्यो । तर खेलाडी बन्छु, नाम कमाउँछु र खतरा खेल्छु भन्ने मैले कहिल्यै सोचकी थिइनँ । मलाई वातावरणले खेलाडी बनाएको हो ।

अभिनेत्री पनि वातावरणले बनायो है !
सुरुको अप्रोच चाहिँ त्यसरी नै हो । त्यसपछि मैले नेपाली एड गर्न थाले । दोस्रो मुभीमा काम गरिसकेपछि फिलिपिन्समा गएर एक्टिङमा तीन महिने बेसिक डिप्लोमा पनि गरेँ । तर मैले त्यो मुभीमै आउनका लागि भनेर त गरेको होइन ।

तपाईंको कुरा सुन्दा लाग्छ– अभिनय तपाईंको प्राथमिकतामा अझै परेको छैन !
हो । मेरो पहिलो प्राथमिकता त स्पोट्स नै हो । मेरो हिरोइनका रुपमा पहिचान बनाउने लक्ष्य कति पनि होइन । खासमा मेरो लाइफ अहिलेसम्म सोचेअनुसार चलेकै छैन । आर्मीमा ज्वाइन गर्नु मन थियो मलाई तर त्यस्तो भएन । दुई वर्ष जति ट्राइ गरेँ पनि तर घाइते भएका कारण सकिनँ ।
मैले अहिले पनि फुल्ली कमर्सियल मुभी गरेको छैन र गर्दिनँ पनि होला । म नाम कमाउनलाई मात्र फिल्म खेल्दिनँ । मलाई स्टोरीले छुनै पर्छ अनि मात्र खेल्छु । नाम कमाउन त सजिलो छ नि ! आइटम डान्स गरेपछि नाम कमाइहालिन्छ नि ! अफर नआएको पनि होइन । अहिले चलेका थुप्रै आइटम गीतहरुमा मलाई अफर आएको पनि हो तर नखेलेकोमा पछुतो पनि छैन । अहिलेसम्म जति नाम कमाएँ, त्यति भए पुग्छ मलाई । नेपालमा योभन्दा धेरै नाम कमाएर काम पनि छैन । खेलबाट कमाएको नाम मिस नेपालको टाइटल जितेजस्तो सजिलो पनि होइन । नौ वर्षको उमेरदेखि लगातार प्रोफेसनल ट्रेनिङ लिएर यो उपलब्धि हासिल गरेको हो र त्यही मिहिनेतको ब्याज अहिलेसम्म खाइरहेको छु ।

मिस नेपालको कुरा निकालिहाल्नुभयो । यसको ताज पहिरिने इच्छा त तपाईंमा पनि थियो नि !
थियो भन्नुपर्ला । सहभागी भएको हो । मिस नेपाल २०१३ मा मिस ट्यालेन्टको टाइटलसहित थर्ड रनरअप भएँ ।

तपाईंले खेल्ने भलिबल अहिले नेपालको नेसनल गेम भइसक्यो, कस्तो लाग्छ ?
दुई महिना त भयो ! अझै धेरैलाई थाहा छैन । अहिले ‘भलिबल हो नि नेसनल गेम’ भन्दा धेरैले ‘हो र ?’ भन्छन् । कति ठाउँ त मैले आफैँ एक्सप्लेन गरिरहेकी छु ।

अब भलिबलको नेसनल टिममा तपाईंलाई पुनः देख्न पाइने सम्भावना कति छ ?
सम्भावना छ किनभने म जहिलेसम्म सक्छु, ट्राईचाहिँ गर्छु ।

अब फिल्मकै कुरा गरौं । रिलिज हुन लागेको फिल्म ‘भुईंमान्छे’मा तपाईंको भूमिका कस्तो छ ?
मेरो आफ्नो क्यारेक्टरभन्दा पनि समग्र फिल्म नै राम्रो छ । यो एउटा लुकेको कथा हो । मेडिकल क्षेत्रको विकृति फिल्ममा देखाउन खोजिएको छ । यस्तै कथाले मलाई छुन्छ । फिल्ममा मेरो क्यारेक्टर सशक्त छ, कमजोर महिलाका रुपमा छैन ।

तपाईंले अघि नाम कमाउनलाई फिल्म खेल्दिनँ भन्नुभयो । स्क्रिप्टको के कुराले तपाईंलाई छुन्छ र तपाईं फिल्म खेल्न तयार बन्नुहुन्छ ?
मलाई सारी लगाएर फूलबारीमा नाच्ने फिल्म खेल्न मन लाग्दैन र खेल्दिनँ पनि । मलाई फिल्ममा बार डान्सर अर्थात् चम्किली, उत्ताउली रोल दिएको भए म गर्दिनँ र गर्न पनि सक्दिनँ । अहिलेसम्म त मैले ओभरएक्टिङ गर्नुपरेको छैन । म जे छु, त्यस्तै भूमिकामा अभिनय गरिरहेकी छु र मलाई नारीलाई कमजोर रुपमा प्रस्तुत गरिएको फिल्म मन पनि पर्दैन । मलाई नारीप्रधान फिल्म खेल्न मन लाग्छ । अझ भन्नुपर्दा ‘वन्डर वुमन’ जस्तो फिल्म खेल्न मन लाग्छ । यो फिल्म त मैले हलमा गएर चारपल्ट हेरेँ ।

तपाईं खेलाडी भएका कारण अभिनयमा आउँदा केही फाइदा पुग्यो ?
फिल्ममा एक्सन गर्न अलि सजिलो भयो होला । नत्र त के फाइदा हुनु नि ? झन् बढी प्रेसर भयो । कोही सीता गुरुङ (नयाँ) भएर फिल्ममा आएको भए कसैले केही भन्दैनथ्यो होला तर सिपोरा गुरुङ भएकाले दर्शकको अपेक्षा धेरै भइदिनसक्छ । त्यसैले प्रेसर पो महसुस गरेकी छु ।

तपाईंका लागि खेलाडी हुनु भनेको के हो ?
नेपालको हकमा त आत्मसन्तुष्टि नै हो । न कमाइन्छ नै, न केही गरिन्छ । सबैको राष्ट्रिय टिममा पुग्ने सपना हुन्छ । पुगेपछि त्यहाँको बेस्ट प्लेयर हुने अनि त्यसपछि त्यसलाई जोगाइरहन । अनि त्यसपछि त आत्मसन्तुष्टि नै हो नि !

तपाईंको नजरमा नेपालमा खेलाडीको स्कोप कति छ ?
कहाँ हुनु ? भनेँ नि आत्मसन्तुष्टि नै हो ! मैले अहिलेसम्म एक–दुइटा फेमिली मात्र देखेको छु, जो आफ्नो सन्तानलाई खेलाडी बनाउँछु भनेरै लागेका छन् । यो ठूलो कुरा हो । धन्न मेरो फेमिलीचाहिँ खेलसचेत थियो र सजिलो भयो । मलाई त सानोमा मेरा साथीहरुले ‘तेरो फेमिली नभएको भए त सिपोरो गुरुङ बन्ने थिइनस्’ भन्थे । त्यतिबेला त मलाई म खेलेरै भएको हो भन्ने घमण्ड थियो । अहिलेचाहिँ महसुस गर्छु– परिवारले सपोर्ट नगरेको भए, प्रेरित नगरेको भए यो सब हुने थिएन ।

तपाईंलाई स्पोट्स फिल्म पनि खेल्न मन होला ?
छ नि !

झन् आफ्नै जीवनमाथि आफैँ अभिनय गर्न मन होला !
भइहाल्छ नि ! कसैले लेख्ला कि ?

धेरैले भन्छन् तपाईं मिडियाबाट अलि टाढै हुन खोज्नुहुन्छ ?
खासमा म एक्लैएक्लै हिँड्नुपर्ने मान्छे ! मेरो स्वभाव नै त्यस्तो छ । खासमा भन्नुपर्दा म त नचाहँदा–नचाहँदै फेमस भएँ । धेरैजसो मिडियाबाट टाढै हुन खोज्छु । त्यसैले त मेरा समाचार आइरहे पनि स्टोरीहरु त्यति आइरहेको हुँदैन । मेरो आफ्नै खालको बाउन्ड्री छ । सामाजिक सञ्जालमा बच्चाहरुले फलो गर्छन् । उनीहरुलाई रिप्लाई गरेर रमाइरहेकी हुन्छु । मेनस्ट्रिम मिडियामा स्टोरी आइरहनुपर्छ भन्ने लाग्दैन ।

एकपल्ट त तपाईंको मिडियाप्रति गुनासो पनि सुनिएको थियो ?
अँ, कहिलेकाहीँ मिडियापर्सनहरु यस खालको प्रश्न सोध्छु अनि यस खालको जवाफ आउँछ भन्ने सोचेर अन्तर्वार्ता लिन आउँदा अचम्म लाग्छ । उहाँहरुले सोचेजस्तो जवाफ त कहाँ पाइन्छ त ? तर यही कारण मिडियासँग टाढिन्छु भन्ने बिल्कुलै होइन ।

प्रसंग बदलौँ, बिहे कहिले गर्ने होे त ?
समय आएपछि गर्नुपर्ला ।

कहिले आउँछ त समय ?
आउला नि !

तपाईंको श्रीमान् हुनलाई न्यनूतम सर्त चाहिँ के–के छ नि ?
क्राइटेरिया छैन भनौँ भने छ । पढेको हुनुपर्छ, मभन्दा अग्लो हुनुपर्छ । खेलप्रेमी पनि हुनुपर्यो । फिजिकल्ली कन्सस पनि हुनुपर्यो । म चाहिँ विहान उठेर जिम जाने ऊ चाहिँ सुतेको सुतै गर्नेखालको श्रीमान् भएर त भएन नि ! लाइफस्टाइल त मिल्नुपर्यो ।

अनि यस्तै खालको ड्रिमब्वाय भेट्नुभयो त ?
अलिअलि (हाँस्दै) भेटेको छु । नढाँटी भन्नुपर्दा मेरो ब्वायफ्रेन्ड छ ।
(शुक्रवार साप्ताहिकबाट साभार)