‘हिम्मतवाली’ रेखाले किन खेलिन्, सविरले किन बनाए ‘तथास्तु’ ?



आउँदो पौष २५ देखि देशव्यापी प्रदशर्नमा आउन लागेको फिल्म ‘तथास्तु’ अहिले चर्चामा छ । योसंगै अन्य दुई फिल्म पनि प्रतिष्पर्धामा छन् । तर रेखा थापा अभिनित फिल्म भएकाले ‘तथास्तु’ को चर्चा व्यापक छ जसलाई नकार्न सकिन्न । रेखासंगै सुवास थापा, किशोर खतिवडा र विज्ञान जोशीको पनि फिल्ममा मुख्य भुमिका छ । यहि फिल्मबाट ‘कसले चोर्यो मेरो मन’ र ‘काली’ जस्तो व्यवसायिक रुपमा सफल फिल्म निर्देशन गरिसकेका निर्देशक सविर श्रेष्ठले निर्माणमा समेत हात हालेका छन् ।

Tathastu 1

यता पछिल्लो समय आफ्नै रेखा फिल्मस् बाहेक अन्य ब्यानरको फिल्म खेल्न छाडेकी नायिका रेखाले ‘तथास्तु’ मा अभिनय गर्नुलाई पनि एउटा रोचक पक्षको रुपमा लिइएको छ । कतिपयले सविरसंगको सम्बन्ध ‘दाजु–बहिनी’ को जस्तो रहेकाले पनि रेखाले यो फिल्ममा खेल्न तयार भएको अड्कलवाजी गरेका छन् । तर रेखा त्यस्ता अड्कलवाजीको खण्डन गर्छिन् । व्यवसायिकता भनेको निकटतासंग जोडिनु हुँदैन् भन्ने विश्वास राख्ने रेखाले किन खेलिन् त ‘तथास्तु’ । अनि सविरले किन बनाए त ‘तथास्तु’ । पढनुस् उनीहरुकै शब्द–शैलीमा :–

मैले यसकारण खेले तथास्तु : रेखा थापा

rekha

धेरैले सविर दाईको फिल्म भएकाले मैले ‘तथास्तु’ खेलेको भन्ने सोचेको हो भने त्यो एकदम गलत हो । नातावाद कृपावादका कारण मैले ‘तथास्तु’ मा अभिनय गरेको होइन् । यदि ‘तथास्तु’ को स्क्रिप्ट राम्रो हुँदैन थियो भने सविर श्रेष्ठ मेरो दाई हो भनेकै आधारमा म यो फिल्म खेल्दिन थिए । वास्तवमा भन्नुपर्दा तथास्तुको स्क्रिप्ट एकदमै राम्रो छ । अहिले हाम्रो समाजमा महिला हिंसा र बलात्कारका केशहरु बढिरहेको अवस्था छ । जस्तो भर्खरकै पुजा बोहोरा काण्ड लगायत । र तथास्तु यस्तै विषयवस्तुको पेरिफेरीमा घुमेको छ । एउटा महिला पात्र जो बलात्कृत भएर पनि मौन हुन्छे । हामी भन्ने गर्छौ बाटोमा हिड्ने महिला मात्र बलात्कृत हुने गर्छे तर त्यो गलत हो किनभने आफ्नै श्रीमानबाट पनि श्रीमती बलात्कृत भएकी हुन्छे । तर समाज र घरपरिवारको डरले कतिपय अवस्थामा महिलाहरु मौन बस्न बाध्य भएका हुन्छन् । यि सम्पुर्ण कुराहरुलाई ‘तथास्तु’ को कथाले समेटेको छ । मलाई सविर दाईले तैले यो कथालाई न्याय गर्न सक्छस् भनेर स्क्रिप्ट पढ्न दिनुभएको थियो । डायलगहरु देख्दा म पनि नर्भस भएको थिए । तर मैले सक्दो मिहेनत गरेर राम्रो गर्ने कोसिस गरेको छु । सधै मान्छे पिटेको देख्ने रेखा थापालाई तपाई यो फिल्ममा निकै फरक ढंगमा देख्नुहुनेछ । पिट्न त रेखाले यँहा पनि पिटेकी छ तर अरु भन्दा फरक तरिकाले । महिला हिंसा विरुद्ध यो फिल्मले एउटा बुलन्द आवाज बोकेको छ । त्यही भएर नै मैले ‘तथास्तु’ खेलेको हो । हरेक नेपालीले हेर्नैपर्ने फिल्म बनेको छ । र मलाई आशा छ मेरो फ्यानहरुले यो फिल्मलाई छुटाउनु हुनेछैन् ।

यसकारण तथास्तु बनाए : सविर श्रेष्ठ

shabir shrestha

निर्देशन गर्दागर्दै एउटा विषयवस्तु मेरो दिमागमा आइरहेको थियो । जुन विषयवस्तु अलिकति नन–कमरसियल पनि हुन सक्थ्यो । त्यो विषयवस्तुमा अरुसंग काम गर्दा मलाई अलिकति असहज पनि हुनसक्थ्यो । त्यसैले आफैले निर्देशनसंगै लगानी पनि गरेर त्यो विषयवस्तुलाई कमरसियल बनाएर दर्शकमाझ ल्याउँ भन्ने लाग्यो । एउटा नारीप्रतिको पिडा र उत्पिडनलाई कसरी पर्दामा ल्याउँ भन्ने मेरो सोच आज ‘तथास्तु’ को रुपमा जन्मेको छ । यसअघिका मेरा हरेक चलचित्रहरुलाई मैले पुर्ण मनोरञ्जनको रुपमा दिइरहेको थिए । तर यो ‘तथास्तु’ मा भने विचार र मनोरञ्जन दुबै छ । यो फिल्मले भावनालाई अभिव्यत्ती गर्छ । त्यसैले मैले बनाएको यो फिल्म निकै फरक र मेरो करिअरकै महत्वपुर्ण प्रोजेक्टको रुपमा लिएको छु । मेरो यो चलचित्रमा पनि रेखा थापा नै मुख्य कलाकार रहेकी छिन् । हरेक निर्देशकको दिमागमा स्क्रिप्टलाई कुन कलाकारले न्याय दिन सक्छ भन्ने कुरा घुमेको छ । मेरो पनि नघुमेको होइन् । तर यो स्क्रिप्टलाई रेखाले पुर्ण रुपमा न्याय दिएकी छिन् । उनको अभिनयलाई जति प्रशंसा गरेपनि कम हुन्छ । मैले बोलिरहनु भन्दा पनि दर्शकले आफै यो कुरा फिल्म हेरिसकेपछि महसुस गर्नेछन् । त्यसैले म तथास्तुको बारेमा धेरै भन्दिन् । मात्र यत्ति भन्छु कि – ‘तथास्तुको हिरो जगदिश्वर थापाले लेख्नुभएको स्क्रिप्ट नै हो र स्क्रिप्टको हिरो रेखा हो । यो फिल्मले हरेक महिलालाई हिंसाको विरुद्धमा उभिन सिकाउनेछ भन्ने मेरो विश्वास छ । ’ (प्रस्तुती : अनिल यादव)

तथास्तुको ट्रेलर हेर्न यँहा क्लिक गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्