‘कालमाण्डू’को ‘राधा’ गीत रिलिज गर्दै पुस २४ गतेलाई प्रदर्शन मिति घोषणा



एक्सन थ्रिलर जनरामा निर्माण भएको सिनेमा ‘कालमाण्डू’ आगामी पुस २४ गतेबाट देशव्यापी प्रदर्शन हुनेछ । निर्माण टिमले सिनेमामा समावेश ‘राधा’ बोलको गीत सार्वजनिक गर्दै पुस २४ लाई प्रदर्शन मिति घोषणा गरेको हो ।

गीतमा सम्राट न्यौपानेको स्वर तथा संगीत रहेको छ भने रमेश देवकोटाले लेखेका हुन् । यो गीतको सार्वजनिक भिडियोमा मुख्य कलाकार अनिलराज पौडेल र रोशनी कार्की फिचर्ड छन् । गीतमा उनीहरु राधाकृष्णको भूमिकामा प्रस्तुत छन् । पुनम श्रेष्ठको कोरियोग्राफी रहेको गीतको भिडियोमा पवन सुस्लिङको डीओपी तथा सम्पादन रहेको छ।

एकातिर अपराध र थ्रिलरको कथा, अर्कोतिर प्रेमिल भाव बोकेको ‘राधा’ यी दुई फरक स्वादले ‘कालमाण्डू’को संसारलाई थप फराकिलो बनाउने देखिएको छ। सिनेमाको कथा अपराध, रहस्य, अपहरण, मानव तस्करी, हत्या र पारिवारिक सम्बन्धलाई केन्द्रमा आधरित रहेको निर्माण टिमले जनाएको छ ।

मुभी ल्यान्ड नेपालको ब्यानरमा निर्माण भएको सिनेमा सयनम अधिकारीले लेखन तथा निर्देशन गरेका हुन् । सिनेमामा काठमाडौंको बाहिरी चमकभित्र लुकेको अँध्यारो संसार, मानव तस्करी, अपहरण, हत्या र अपराधको जाललाई प्रस्तुत गर्ने निर्देशक अधिकारीले बताए ।

निर्देशक अधिकारीका अनुसार सिनेमामा १९ वर्षीया बहिनी हराएपछि उनलाई खोज्न निस्किएको एक दाजु कसरी अपराधीहरूको संसारमा फस्छ र बहिनीलाई खोज्ने क्रममा कस्ता खतरासँग भिड्छ भन्ने देखाउन खोजिएको छ ।

‘सिनेमा एक दाजुले आफ्नी १९ वर्षीया बहिनीको खोजीमा अपराधीहरूसँग गर्ने संघर्षको कथामा आधारित छ,’ निर्देशक अधिकारीले भने, ‘कालमाण्डू एक्सन, थ्रिलर र सस्पेन्स विधामा निर्माण गरिएको छ ।’

सिनेमाले एक्सनसँगै दाजु र बहिनीप्रतिको प्रेम, खोजी र अपराधसँगको खतरनाक युद्धको कथा प्रस्तुत गर्नेछ । सिनेमामा गजित बिष्ट, अञ्जन थापा, अनिलराज पौडेल, राजन अधिकारी, रोशनी कार्की, अलिशा बास्तोला, ललना चिमरिया, सुगत करणजित, विशाल पहारी, राकेश कलागाईं, शिव अधिकारीलगायत कलाकारको अभिनय रहेको छ ।

सिनेमाको छायांकन काठमाडौं, ललितपुर, भक्तपुरदेखि पर्साको ठोरीमा गरिएको हो । सिनेमामा पवन सुस्लिङको छायांकन तथा सम्पादन, राजु लामा र मिस्टर काजीको द्वन्द्व निर्देशन, रवि भुजेलको सहायक निर्देशन, पुनम श्रेष्ठको कोरियोग्राफी, सम्राट न्यौपाने संगीत निर्देशन छ ।

कमल थिङ निर्माता रहेको सिनेमामा मिलन कटवाल र शम्भु श्रेष्ठले प्रोडक्सन व्यवस्थापनको जिम्मेवारी सम्हालेका छन्। यो सिनेमालाई सिंहदेवी प्रोडक्सनले वितरण गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्