शुरुवाती व्यापारमा ‘तथास्तु’ राम्रो, ‘आभाष’ सन्तोषजनक, ‘अलविदा’ निराश



रंग खबर, काठमाण्डौं, पौष २५– शुक्रवारे मैदानमा आजबाट तीन नेपाली फिल्म प्रदशर्नमा आएका छन् । प्रदशर्नमा आएका तीन फिल्म मध्ये तथास्तुको शुरुवाती व्यापार राम्रो, आभाषको सन्तोषजनक र अलविदाको न्युन रहेको रिपोर्ट प्राप्त भएको छ ।

tathastu alvida aavash

रेखा थापा स्टारर फिल्म ‘तथास्तु’ को कतिपय हलमा पहिलो शो नै हाउसफुल भएको थियो । राजधानीको गोपीकृष्ण, अष्टनारायण, कलंकी, गंगा, पुष्पाञ्जली, शुभकामना र गुणहलमा ‘तथास्तु’ को सबै शो हरु झण्डै शतप्रतिशत रहेको काठमाण्डौं वितरक गोपाल कायस्थले दाबी गरेका छन् । वितरक कायस्थ भन्छन्– ‘तीनवटा नेपाली फिल्म एकआपसमा जुध्दापनि ‘तथास्तु’ ले गरेको शुरुवाती व्यापारलाई सुपर नै मान्नुपर्छ । ’ ‘रेखा थापालाई हेर्न हलमा फेरी दर्शकको भिड लागेको छ , यसले रेखाको स्टारडम देखाउँछ’, उनले थपे । रेखा राजधानीको अष्टनारायण हलमा दिउँसो दर्शकसंगै ‘तथास्तु’ हेर्न पुगेकी थिइन् ।

त्यस्तै मोफसल वितरक नरेन्द्र महर्जनले ‘तथास्तु’ को शुरुवाती व्यापार हिन्दी फिल्म ‘तेबर’ को भन्दा माथि रहेको जानकारी दिए । ‘तथास्तुको व्यापार हिन्दी फिल्मको भन्दा माथि छ, हामी यसमै खुशी छौं ’, उनले भने । वितरक महर्जनका अनुसार मोफसलका झण्डै ३३ बढी हलमा तथास्तु प्रदशर्नरत छ । तर वैद्य माओवादीले आह्वान गरेको पूर्वाञ्चल बन्दले प्रदशर्नमा आएका तीनवटै फिल्मको व्यापार प्रभावित हुनपुगेको छ । सविर श्रेष्ठको निर्देशन रहेको ‘तथास्तु’ मा रेखासंगै, सुवास थापा, किशोर खतिवडा र विज्ञान जोशीको मुख्य अभिनय रहेको छ । फिल्ममा रामहरी धितालको समेत लगानी रहेको छ । फिल्मले महिला हिंसा र बलात्कारको विषयलाई मुख्य रुपमा उठाएको छ ।

tatashu alvida aavash 2

यता युवावर्गलाई लक्षित गरि बनाइएको फिल्म ‘आभाष’ ले पनि शुरुवाती व्यापार राम्रो गरेको निर्माता गोविन्द शाहीले दाबी गरेका छन् । उनको दाबी अनुसार कतिपय हलमा ‘आभाष’ को व्यापार अन्य दुई फिल्म भन्दा माथि छ । तर रंग खबरको हल रिपोर्टिङ मा वितरक समेत रहेका निर्माता शाहीको दाबी सहि देखिएन । रंग खबरको स्थलगत रिपोटिङमा राजधानीको अष्टनारायण, कलंकी, गंगा, गुण र पृथ्वी हलमा रेखाको ‘तथास्तु’ हेर्ने दर्शकको संख्या अन्यभन्दा दोब्बर देखियो । ‘तथास्तु’ पछि आभाषको व्यापार सन्तोषजनक रहँदा आर्यन सिग्देल अभिनित ‘अलविदा’ हेर्ने दर्शक न्युन पाइएको छ । जबकी रेखाको ‘तथास्तु’ पछि आर्यन सिग्देलकै ‘अलविदा’ ले बाजी मार्ने अड्कल काटिएको थियो । हसनराज खान निर्मित फिल्म ‘अलविदा’ को दुई फिल्म भन्दा हल संख्या पनि कम रहेको छ । ‘तथास्तु’ र ‘आभाष’ दुबै फिल्महरु देशभर पचास बढी हलमा प्रदशर्न भइरहेका छन् ।

सुरेन्द्र पौडेल निर्देशित ‘आभाष’ मा निशा अधिकारी, संयम पुरी, आश्मा डिसी, सलोन बस्नेत, प्रकृति श्रेष्ठ र सुनिल रावलको अभिनय रहेको छ भने लक्ष्मण रिजाल निर्देशित फिल्म ‘अलविदा’ मा आर्यनसंगै निर्माता खान र नायिका अनिता आचार्यको मुख्य अभिनय रहेको छ । यि तीनै फिल्म माघे संक्रान्तिको छेको पारेर प्रदशर्नमा आएका हुन् ।

प्रतिक्रिया दिनुहोस्