पहिलोपटक सालीनदीको स्वास्थानी मेलामा प्रदशर्न भएको फिल्म ‘झोला’ हेर्न दर्शकको भिड बढ्दै



रंग खबर, काठमाण्डौं । काठमाडौंको साँखु स्थित सालिनदीमा ‘स्वस्थानी मेला’ मा को अवसर पारेर विशेष प्रदर्शनको क्रममा रहेको नेपाली मौलिक फिल्म ‘झोला’ हेर्न दर्शकको भीड लागेको छ । स्वस्थानी कथा र फिल्म दुबै नारीको परिवेशसँग जोडिएकोले मेलाको अवसर पारेर एक महिने प्रदर्शनको क्रममा रहेको ‘झोला’ हेर्न दर्शकको उपस्थिती बढ्दै गएपछि दैनिक ७ शो सम्म चलाउनुपर्ने अवस्था आएको बताइएको छ ।

jhola hall

गत पौष २१ बाट मेला सुरु भएसँगै फिल्मको शो शुरु गरिएको हो । तर सुरुवाती दिनमा दर्शक मध्यम रुपमा उपस्थित भए पनि पछिल्लो चार दिन यता हरेक शो हाउसफुल बनेको निर्माता राज तिमिल्सिना बताउँछन् । दैनिक ५ शो को हिसावले अहिले फिल्म प्रदर्शन भईरहँदा दर्शकको बढ्दो चाख र मागले दैनिक रुपमा ७ शो चलाउन पर्ने स्थिती आएको पनि उनले जानकारी दिए । ‘दिन बढ्दै जाँदा सिनेमा प्रति दर्शकको चाहाना तथा उत्सुकता बढ्दै गएको पाएका छौँ ’ , अर्का निर्माता सुशिल शाहले भने, ‘‘नेपाली समाजको सय बर्ष पुरानो कथालाई अहिले पर्दामा देखाउन पाउँदा अनि फिल्मप्रति दर्शकले दिएको माया र साथले उत्साहित बनाएको छ ।’

jhola team2

शनिवार फिल्मका निर्देशक यादवकुमार भट्टराई, निर्माता द्वय तिमिल्सिना र शाह तथा अर्का निर्माता रामगोपाल थापा तथा केन्द्रिय अभिनयमा रहेका बाल कलाकार सुजल नेपालसँगै दर्शकले फिल्म हेरेका थिए । जहाँ कलाकार सुजलको अभिनयलाई धेरैले तारिफ गरेको पाईएको थियो भने उनीसँगै तश्विर खिचाउनेको समेत भीड थियो । निर्माण युनिटले माघ १ गते अर्की लिड कलाकार गरिमा पन्त, देशभक्त खनाल लगायतलाई दर्शक समक्ष उपस्थित गराउने कार्यक्रम राखेको छ ।

शो को लागी बाँसबाट कृतिम रुपमा सिनेमा हल निर्माण गरिएको छ । जहाँ एक पटकमा ५ सय जनाले फिल्म हेर्न सक्ने व्यवस्था छ । यसरी मेलामा फिल्मको प्रदशर्न तय भएको नेपालमै सम्भवत: पहिलोपटक हो ।  मेला आयोजक माधवनारायण स्वस्थानी व्रत तथा शालिनदी सुधार समितिसँगको सहकार्यमा फिल्म युनिटले एक महिनाको लागी दर्शकमाझ झोलाको सो आयोजना गरेको हो । मेला अवधीभर करिव ६० हजार दर्शकले फिल्म हेर्ने अपेक्षा निर्माण युनिटको छ । मेलामा हरेक बर्ष करिव ३० लाख श्रद्धालुहरुको उपस्थिती रहने मेला आयोजक समितिले जनाएको छ ।

jhola2

सति प्रथाको ऐतिहासिक कथामा आधारित ‘झोला’ साहित्यकार कृष्ण धाराबासीको कृतिमा आधारित रहेर तयार भएको हो । बक्स अफिस कलेक्शनमा राम्रो प्रभाव राखेको यो सिनेमाले सार्वजनिक प्रदर्शनमा आउँदा पनि दर्शकको राम्रो साथ पाएको थियो ।

प्रतिक्रिया दिनुहोस्