पार्श्व गायनमा जम्दै बादल लिम्बु, भन्छन्– ‘एकदिन यो क्षेत्रको स्टार बन्ने लक्ष्य छ’



अनिल यादव, काठमाण्डौं ।

‘नेपाली आइडियल २०६९’ को उपाधी जितेपछि गायक बादल लिम्बुलाई कहिल्यै पछाडी फर्केर हेर्नुपरेको छैन् । कक्षा ५ मा अध्ययन गर्दादेखि नै संगितमा झुकाव राख्ने बादलले त्यो उपाधी चुम्नका लागि मात्र धेरै कसरत गरेका थिए । नेपाली आइडियल’ बन्नका लागि झापाको शनिश्चरमा घर भएका बादलले निकै पटक राजधानी धाउनु पर्थ्यो । आफ्नो स्वरलाई माया गर्नुहुने शुभचिन्तकहरुलाई भोट माग्नका लागि पनि त्यत्तिकै दौडधुप गरे उनले । अन्तत : उनले उपाधी चुमेरै छाडे । ‘मेरो जिवनकै सबैभन्दा खुशीको क्षण थियो त्यो दिन’, आफु विजय हुँदाको दिन स्मरण गर्छन् उनी ।

बादलका लागि त्यो दिन खुशी नहोस् पनि किन । किनभने उनी उपाधी चुमेसंगै अढाई लाख नगद पुरस्कार र अन्य केही गायनका अवसरहरुको भागिदार बन्दैथिए । तर त्यसो भएन् । अहिलेसम्म बादलले ‘नेपाली आइडियल’ भए वापतको पुरस्कार पाएका छैनन् । ‘संचालक फरार भएपछि पुरस्कार रकम अहिलेसम्म पाएको छैन्’, बादल भन्छन्– ‘तर पनि म दुखी छैन्, किनभने ‘नेपाली आइडियल’ बन्नु नै मेरो लागि सबैभन्दा ठुलो उपलब्धी हो भनेर चित्त बुझाउछु ।’

Badal final 2

पहिलो रेकर्डिङ अनुभव
हुन् त बादलको सांगितिक करिअर ‘नेपाली आइडियल’ बनेपछि शुरु भएको होइन् । वि.स. २०६६ सालमा पुर्वाञ्चल आधुनिक गायन प्रतियोगितामा पनि उनले तेश्रो स्थान हाँसिल गरेको थिए । सोहि वर्ष उनले उषा राईको एल्बम ‘उषा’ मा ‘इश्वर सामु’ बोलको गीतमा आफ्नो स्वर दिएका थिए । ‘त्यो नै मेरो पहिलो रेकर्डिङ थियो’, उनले सम्झिए । ‘त्यत्तिबेला म निकै नर्भस भएको थिए’, पहिलो रेकर्डिङ अनुभव सुनाए ।

बादलको सांगितिक कक्षा
कक्षा ५ मा पढ्दाखेरीको कुरा हो । बादलले आफ्नो विद्यालय कन्काई बोर्डिङ स्कुल (विर्तामोड) को स्टेज कार्यक्रममा गाउने मौका पाएका थिए । त्यही मौकाले उनलाई आज गायक बनाएको उनी बताउँछन् । ‘पहिलोपटकको प्रस्तुति देखेपछि सबैले राम्रो गरेको भन्दै सहानुभुति दिनुभयो, परिवारले पनि समर्थन गर्दै जानुभयो र आज यँहासम्म आइपुगेको छु’, उनले भने । बादल सहानुभुतिको भरमा मात्र गायक बनेका भने होइनन् । उनले कक्षा ९ मा अध्ययन गर्दागर्दै विर्तामोडको सनलाईट संगित विद्यालयमा पनि संगीत कक्षा लिन्थे । उनले त्यँहा दुईवर्ष कक्षा लिएको बताए । २०६७ सालमा एसएसली पास गरेपछि गायक बन्छु भनेर राजधानी छिरेका बादलले ‘मधुरीमा नेपाल’ मा पनि केही महिना कक्षा लिएको बताए ।

Bdal final

पार्श्व गायनमा जम्न खोज्दै छु
बादल भन्छन्– ‘अहिले जमाना प्रतियोगिताको छ । तर जसले राम्रो गर्छ त्यो अवश्य अगाडी बढ्छ ।’ मिहनेत र कर्ममा विश्वास राख्ने बादलले एक सय बढी स्टेज प्रस्तुती दिइसकेको बताए । तपाईको लक्ष्य के त ? भन्ने प्रश्नमा बादल भन्छन्– ‘म पाश्र्व गायनमा जम्न खोज्दै छु, एकदिन यो क्षेत्रको स्टार बन्ने सपना छ ।’ पार्श्व गायनमा स्टार बन्ने सपना बोकेका बादलले हालसम्म चारवटा फिल्ममा आफ्नो स्वर दिइसकेका छन् । प्रदशर्न भइसकेको फिल्म ‘पुन्टे परेड’ को ‘डुब्दै गए म’ र ‘अलविदा’ को ‘मैले जसको’ बोलको गीत उनले गाएका हुन् । दुवै फिल्मले सफल व्यापार नगरेपनि यि दुवै गीत सेन्टीमेन्टल र रुचाइएका छन् । त्यस्तै गोपिकृष्ण ब्यानरको ‘होमवर्क’ र उदय सुब्बाको ‘अग्नी’ मा पनि उनले स्वर दिएको बताए । तर दुवै फिल्म अहिले छायांकनका क्रममा छन् । बादललाई पाश्र्व गायनको क्षेत्रमा ल्याउन संगितकार ताराप्रकाश लिम्बुले धेरै नै सहयोग गरिरहेको उनले बताए । ‘अहिलेसम्म जति फिल्महरुमा गाउने मौका पाए , त्यो वँहाकै कारणले हो’, उनले सम्झिए ।

‘पहिलो धोका’ ल्याउने तयारीमा
अर्काको एल्बममा स्वर दिएपनि हालसम्म आफ्नो एल्बम नल्याएका बादलले अब ‘पहिलो धोका’ एल्बम ल्याउने तयारी गरिरहेको बताए । यो एल्बमको ‘तिमीलाई फुल सम्झेर’, ‘भो माया लाउँदिन’ र ‘जिन्दगी’ बोलको गीत भने सार्वजनिक भइसकेको छ । ‘अब ‘यो कस्तो यात्रा’, ‘पहिलो धोका’ र ‘आँखामा गाजल लाउनेले’ बोलको गीतसहित एल्बम सार्वजनिक गर्ने क्रममा छुँ’ , उनले सुनाए ।

badal limbu concert

रेखा थापाको फिल्ममा गाउने चाहना छ
गायक बादल नायिका रेखा थापाको फ्यान रहेछन् । तपाईलाई कसको फिल्ममा गाउने चाहना छ भन्ने एक प्रश्नमा उनले यस्तो रहस्य खुलाए । भने– ‘म सानैदेखि रेखा थापाको फ्यान हु, वहाँको प्राय फिल्म म छुटाउँदिन किनभने वँहाको अभिनय मलाई साह्रै मनपर्छ ।’ रेखा अभिनित फिल्मका प्राय गीतहरु आफुले गाउने गरेको पनि उनले सुनाए । ‘त्यसैले मलाई रेखा थापाको फिल्ममा गाउने चाहना छ’, उनले भने । ‘सुनेको छु रेखाजीले हामीजस्ता संघर्ष गरिरहेका कलाकारलाई सधै स्थान दिनुहुन्छ, मैले पनि त्यही आशा राखेको छु’, उनले थपे ।

संगीत मेरो पेशा र नशा दुवै हो
अन्त्यमा, बादललाई सोधिएको एक पश्न थियो । तपाईको विचारमा संगीत के हो ? उनले भने– ‘संगीत मेरो लागि पेशा मात्र होइन, नशा पनि हो । त्यसैले संगीतबाट अब म टाढा रहनसक्दिन, अब यो नै मेरो सबथोक हो । ’

हेर्नुस् बादलले गाएका केही गीतहरु :-

[its_video]http://youtu.be/AL_AvVQv9tg[/its_video]

[its_video]http://youtu.be/3H0ZWgnHwAY[/its_video]

[its_video]http://youtu.be/ltAaNFV9C2U[/its_video]

[its_video]http://youtu.be/Vh69ElWJ7qM[/its_video]

 

प्रतिक्रिया दिनुहोस्