माघीमा दर्शकको भिडले भरियो हल, निर्माताको लगानी सुरक्षित हुने विश्वास !



रंग खबर, काठमाण्डौं, माघ ०२– यो शुक्रबार मल्टिप्लेक्स लक्षित नम्रता श्रेष्ठको ‘‘सोल सिस्टर’ बाहेक कुनै पनि नेपाली फिल्म सार्वजनिक प्रदर्शनमा नआएपछि गत हप्तादेखि प्रदशर्नमा आएका तीन नेपाली फिल्म ‘तथास्तु’, ‘आभाष’ र ‘अलबिदा’ ले दोश्रो साताको प्रदशर्न यात्रा पक्का गरेका छन् । यो शुक्रबारबाट प्रदर्शनमा आउने भनी प्रचार प्रसार समेत गरिएको फिल्म ‘‘इच्छा’ ले अन्तिम समयमा आएर प्रदर्शन मिति रोकेको थियो । माघे संक्रान्तिको छेको पारेर प्रदशर्न भएका तीन फिल्मको व्यापार भने कस्तो रह्यो त ? माघीमा दर्शकको साथ पायो ? आउनुस संक्षेपमा चर्चा गरौं ।

darshak at hall

प्रदर्शनमा आएका तीन फिल्महरुमध्ये रेखा थापा स्टारर ‘तथास्तु’ को साप्ताहिक व्यापार माथि रह्यो । यद्पी निर्माण कम्पनी काइट्स इन्टरटेनमेन्टले ‘तथास्तु’ को कुल साप्ताहिक व्यापार सार्वजनिक गरेको छैन । विशेष गरि शुक्रवार र शनिवार सुखद् व्यापार गर्न सफल सबिर श्रेष्ठ निर्देशित फिल्म ‘तथास्तु’ ले माघ १ गते माघीमा भने बम्परको व्यापार गरेको हलवाला तथा वितरकले दाबी गरेका छन् । मोफसल वितरक नरेन्द्र महर्जनले भने, ‘सुरुवातमा बन्द र हड्तालले हल नै खुल्न पाएको थिएन । बन्द खुलेसँगै माघीमा ‘तथास्तु’ ले बम्परको व्यापार गरेको छ ।’ काठमाण्डूमा पनि ‘‘तथास्तु’ को माघीमा हरेक हल हाउसफूल रहेको वितरक गोपाल कायस्थले बताए । निर्माता समेत रहेका निर्देशक सबिर श्रेष्ठले दोश्रो साताको व्यापारले फिल्मको लगानी उठ्ने विश्वास बढेको बताए । काठमाण्डू र मोफसल गरी ‘तथास्तु’ चालिस बढी पर्दामा दोश्रो सातामा प्रदर्शनरत छ । रामहरी धितालको समेत लगानी रहेको ‘तथास्तु’ मा रेखासँगै सुवास थापा, किशोर खतिवडा र विज्ञान जोशीको अभिनय छ ।

vid

यता ‘आभाष’ निर्माता एवं वितरक गोविन्द शाहीले पनि दोश्रो साताको व्यापारले लगानी उठ्ने आशा व्यक्त गरे । उनले भने, ‘फिल्म सर्बाधिक हलमा प्रदर्शनरत छ । दोश्रो सातामा लगानी उठ्छ ।’ उनले माघीमा ‘‘आभाष’ को देशका हरेक हल हाउसफूल रहेको दाबी गरे । सुरेन्द्र पौडेल निर्देशित फिल्म ‘आभाष’ मा निशा अधिकारी, संयम पुरी, सलोन बस्नेत र आश्मा डिसीको मुख्य भूमिका छ । भिजे आश्मा डिसीको ‘आभाष’ पहिलो फिल्म हो ।

दुई फिल्मको दाँजोमा फिल्म ‘अलबिदा’ को भने साप्ताहिक व्यापारिक रिपोर्ट निराशको रह्यो । आर्यन सिग्देल, अनिता आचार्य र निर्माता हसन खानको अभिनय रहेको यो फिल्मले अपेक्षा गरेभन्दा हलमा निकै न्यून दर्शकको साथ पायो । लक्ष्मण रिजाल निर्देशित फिल्म ‘अलबिदा’ ले हल संख्या पनि दुई फिल्मको दाँजोमा निकै कम पाएको थियो । केही हलमा दोश्रो साताको प्रदर्शन यात्रा तय गरेको ‘अलबिदा’ को लगानी उठ्ने सम्भावना न्यून छ ।

प्रतिक्रिया दिनुहोस्