हुने भयो फागन ८ मा आर्यन र सुवासको भिडन्त, कसले मार्ला बाजी ?



रंग खबर, काठमाण्डौं । बन्द–हड्तालको कारण दर्शाउँदै माघ २ मा रिलिज नभएको सुवास थापा अभिनित फिल्म ‘इच्छा’ अब फागुन ०८ मा रिलिज हुने भएको छ । सोहि मितीमा आर्यन सिग्देल अभिनित ‘आवेग’ र ‘माला’ पनि रिलिज हुँदैछन् ।

केही समयअघि ‘इच्छा’ अभिनेता सुवासले ‘आवेग’ अभिनेता आर्यनको अभिनयलाई ‘क्यारिकेचर’ को संज्ञा दिएका थिए । त्यसपछि उनीहरु विच निकै घम्साघम्सी चलिरहेको छ । यहि बेला यि दुई अभिनेताको फिल्म जुध्ने भएपछि यसलाई महत्वका साथ हेरिने पक्कापक्की छ । जसको अभिनयको विषयमा सुवासले कुरा काटे, अब त्यही अभिनेतासंग उनको फिल्म जुधेको छ जुन सुवासको लागि चुनौती पनि हो । किनभने दर्शकले कसको अभिनयलाई रुचाउँछन् त भन्ने प्रश्नको जवाफ अब फागुन ०८ ले दिने भइसकेको छ ।

aryan sigdel subash thapa

हुन त अहिले पनि सुवास अभिनित ‘तथास्तु’ र आर्यन अभिनित ‘अलविदा’ प्रदशर्नरत छन् । जँहा ‘अलविदा’ व्यवसायिक रुपमा पुरै असफल देखिएको छ । तर पनि ‘तथास्तु’ लाई रेखा थापा स्टारर फिल्मका रुपमा बुझिएको छ । रेखाको स्टारडमले नै ‘तथास्तु’  को व्यापार राम्रो भइरहेको हो । त्यसैले यि दुई फिल्मबाट सुवास र आर्यनको तुलना गर्न तर्कसम्मत हुँदैन् ।

वसन्त निरौलाले निर्देशन गरेको ‘आवेग’ मा आर्यनसंगै, पवित्रा आचार्य, धुव्र दत्त र अर्चना डेलाला को पनि मुख्य अभिनय छ । यो फिल्मलाई एक्सन प्रधान भनिएको छ । आर्यन र प्रियंका कार्की अभिनित ‘माला’ भने सस्पेन्स थ्रिलर फिल्म भनिएको छ जसलाई सुदिप भुपाल सिंहले निर्देशन गरेका हुन् ।

यता फरक पुस्ताको फरक सोचाईलाई मूख्य बिषय बनाईएको ‘इच्छा’, यसअघि दुई सफल चलचित्र ‘आफ्नो मान्छे आफ्नै हुन्छ’ र ‘श्रीमान–श्रीमती’लाई निर्माण गरेका मुनाल घिमिरेको डेब्यु निर्देशनमा बनेको हो । यसमा सुवाससंगै दयाहाङ राई, दिपशिखा शाहि, ओम प्रतिक लगायतका कलाकारको अभिनय रहेको छ ।

पछिल्लो समय आर्यन अभिनित दुई एक्सन प्रधान फिल्म ‘नाइके’ र ‘अलविदा’ व्यवसायिक रुपमा सफल भएनन् । यसै बेला आर्यनका दुई फिल्मले एकै मितीमा रिलिज मिती तोकेका छन् । जसले तीनैवटा फिल्मका निर्मातालाई त घाटा गर्छ नै त्यसको अलावा आर्यन आफैलाई गाह्रो पर्ने देखिएको छ । कुन फिल्मको प्रमोशन गर्ने भन्ने कुराले त आर्यनलाई अप्ठ्यारोमा पार्छ नै तर त्यो संगसंगै दुवै फिल्म चलेन भने आर्यनको स्टारडम माथि नै ठुलो प्रश्नचिन्ह खडा हुनेछ । त्यसैले पनि आर्यनको एक फिल्म चल्नुपर्ने हुन्छ ।

आर्यन र सुवासमध्ये कसको फिल्मले बाँजी मार्ला ? अब हेर्न बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्