फिल्म नचल्दै ‘वडा नम्बर ६’ लाई एफडीले दियो ३५ लाख ‘एमजी’



अनिल यादव, काठमाण्डौं । केहि दिनअघि वितरक सुनिल मानन्धरले वर्षकै एक प्रतिक्षित फिल्म ‘नाई नभन्नु ल ३’ लाई ३५ लाख मिनिमम ग्यारेन्टी (एमजी) दिएर काठमाण्डौंका लागि प्रदशर्न अधिकार लिए । काठमाण्डौमा यत्ति धेरै एमजी दिएर वितरकले फिल्म जिम्मा लिएको सम्भवत : यो पहिलोपटक भएकाले पनि यसले निकै चर्चा पायो ।

यसको चर्चा नसेलाउँदै फेरी अर्को यस्तै खबर बाहिरिएको छ । सुपरहिट फिल्म ‘छ एकान ६’ का निर्माताहरु दिपकाराज गिरी, दिपाश्री निरौला र निर्मल शर्माले सँयुक्त रुपमा निर्माण गरेको दोश्रो फिल्म ‘वडा नम्बर ६’ ले पनि ३५ लाख मिनिमम ग्यारेन्टी पाएको खबर प्राप्त भएको हो ।

deepa depak

‘वडा नम्बर ६’ लाई राजधानी बाहिर अर्थात मोफसलका लागि वितरक कम्पनी एफडीले ३५ लाख एमजी दिएको निर्मात्री दिपाश्री निरौलाले रंगखबरसंग बताएकी हुन् । अब मोफसलमा यो फिल्मले व्यापार गरेपनि नगरेपनि एफडीले निर्मातालाई ३५ लाख दिनेछ । भर्खरै सम्पन्न ‘वडा नम्बर ६’ का निर्माताहरु र एफडी कम्पनीका प्रमुख प्रदिप कुमार उदयविचको छलफलपछि यस्तो निष्कर्ष निस्किएको हो ।

उज्वल घिमिरेले निर्देशन गरेको यो फिल्मको रिलिज मिती अहिलेसम्म पक्का भइसकेको छैन् । तर वैशाख दोश्रो साता अर्थात वैशाख ११ मा रिलिज हुने सम्भावना प्रवल रहेको निर्मात्री निरौलाले बताएकी छिन् ।

फिल्ममा दीपकराज, प्रियंका कार्की, दयाहाङ राई , सिताराम कट्टेल, केदार घिमिरे, जितु नेपाल, अरुणा कार्कीको मुख्य अभिनय छ भने किशोर खतिवडा, विल्सन विक्रम राई, शिवहरि पौडेल अतिथि भुमिकामा रहेका छन् । कमेडी जनराको यो फिल्मका लेखक अभिमन्यु निरवी हुन् ।

प्रतिक्रिया दिनुहोस्