‘बाटो मूनिको फूल २’ का लागि आधा दर्जन बढी कलाकार पक्का । रेखा र नन्दिता नदोहोरिने



रंग खबर, काठमाण्डौं । समिक्षात्मक टिप्पणी राम्रो पाउन सफल फिल्म ‘बाटो मूनिको फूल’ को सिक्वेल ‘बाटो मूनिको फूल २’ का कलाकारहरु पक्का भएको खबर प्राप्त भएको छ । गायक एवं नायक यश कुमारले निर्माण गर्ने यो फिल्ममा यश र नायक बाबु बोगटीबाहेक अधिकांश नयाँ अनुहार देखिने भएका छन् ।

batomuniko ful 2

सुवर्ण थापाले निर्देशन गर्ने यो फिल्ममा नायकद्धय दीलिप रायमाझी र अर्पण थापा, गायक एवं नायक बाबु बोगटी, नायिकात्रेय ऋचा शर्मा, रिमा विश्वकर्मा, अशिष्मा नकर्मीसँग फिल्म खेल्ने सम्झौता भैसकेको निर्माता एवम नायक यश कुमारले जानकारी दिए । त्यस्तै कलाकारहरु सुभद्रा अधिकारी, टिका पहारी र गणेश उप्रेतीसँग पनि ‘बाटो मूनिको फूल २’ मा खेल्न निर्माण युनिटसँग सम्झौता भैसकेको छ । फिल्ममा अभिनेता राजेश हमालको पनि महत्वपूर्ण भूमिका हुनेछ । राजेश  ‘बाटो मूनिको फूल’ मा पनि थिए तर उनलाई प्रचार प्रसारमा ल्याइएको थिएन ।

‘बाटोमूनिको फूल’ को कथालाई छोएर नै यश कुमारले स्क्रिप्ट तयार गर्दै गरेको बताइएको छ। ‘बाटो मूनिको फूल’ अन्तरजातिय युवा युवतीबिचको प्रेम र परिणाममा आधारित थियो । सुरज सुब्बा नाल्बो निर्देशित फिल्म ‘बाटो मूनिको फूल’ मा अभिनेत्री रेखा थापा, गायक एवं नायकद्धय यशकुमार र बाबु बोगटी अनि नायिका नन्दिता केसीले मुख्य भूमिका निभाएका थिए । ‘बाटो मूनिका फूल २’ मा भने रेखा र नन्दिताको अभिनय रहने छैन ।

‘बाटो मूनिको फूल २’ मा यशकुमार र बाबु बोगटीले संगीत दिनेछन भने मानकृष्ण श्रेष्ठले फिल्मलाई खिच्नेछन् । यो फिल्मको सम्पूर्ण आउट डोर सुटिङ झापा र इनडोर सुटिङ काठमाण्डूमा हुनेछ । फागुनको दोश्रो सातादेखि यो फिल्मको छायाँकन सुरु गर्ने योजना रहेको यशले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्